साइबरजन्य अपराधबाट जोगिन आग्रह

साउन २८, सिन्धुली/प्रविधिको विकास र प्रयोगकर्ता बढेसँगै साइबरजन्य अपराध बढेको भन्दै यसबाट जोगिन आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजना गरेको “साइबर अपराध र सुरक्षा तथा दिगो विकासका लागि डिजिटल मार्ग“ विषयक सचेतनामूलक प्रशिक्षणमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उक्त आग्रह गरिएको हो ।

‘प्रविधिको विकाससँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । अपराधिहरूले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सुनिल चौरसियाले भन्नुभयो ।

युवा सञ्जाल सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा उक्त प्रशिक्षण सञ्चालन गरिएको हो । सिड्स नेपाल, जे.एस.डि.पी. सिन्धुली, ह्याण्ड्स नेपालको संयुक्त साझेदारी तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहकार्य रहेको प्रशिक्षणमा साइबर अपराध र सुरक्षा तथा दिगो विकासका लागि डिजिटल मार्गसम्बन्धी जानकारी गराइएको थियो ।

प्रहरी निरीक्षक चौरसियाले नेपालमा हाल घटिरहेको साइबर अपराधको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न बहानामा डर देखाउने, हेप्ने, धम्क्याउने, गलत कुरा फैलाउने, बेइज्जत गर्ने, हिनताबोध गराउने जस्ता घटनाका मुद्दा दर्ता हुने क्रम बढेको बताउनुभयो ।

“इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्ति, समूह, वा संगठनलाई पछ्याइ क्षति पु¥याउने वा सताउने काम भइरहेको पाइन्छ । अरुको चरित्र बिगार्ने उद्देश्यले वेबसाइट, सामाजिक सञ्जाल वा इमेलबाट नराम्रो प्रचार गर्ने गरेको छ,“ प्रहरी निरीक्षक चौरासियाले भन्नुभयो । नेपालमा साइबर अपराधसँग सम्बन्धित कानूनी व्यवस्थाको विषयमा पनि उहाँले प्रस्ट्याउनुभएको थियो ।

यस्ता अपराध हुन नदिन जिल्ला प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानूनी दायरामा ल्याउन साइबर ब्युरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारबाहीलाई तीव्रता दिन अभियान चलाइरहेको उहाँले बताउनुभयो ।
जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा ५१ वटा साइबर अपराधका निवेदन परेका उहाँले जानकारी दिनुभयो । ती निवेदनमध्येमा पनि धेरैजसो फेसबुक ह्याकसम्बन्धी रहेको प्रहरी निरीक्षक चौरसियाको भनाइ छ ।

यही साउन महिनामा पनि जिल्ला प्रहरी कार्यालयमा फेसबुक ह्याक भएका ३ वटा निवेदन परेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, कर्मचारी, युवा तथा बालबलिकाहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *