सिन्धुलीमा डाक्टर सन्दुक रुइतलाई अभिनन्दन
असार १०, सिन्धुली / वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा प्राद्यापक डाक्टर सन्दुक रुइतलाई सिन्धुलीमा भब्य अभिनन्दन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्धारा आइतबार सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रममा डाक्टर रुइतलाई भव्यरुपमा अभिनन्दन गरिएको हो ।
डाक्टर रुइतले आँखा उपचारको क्रममा पु¥याएको योगदान, प्रविधिको विकास, न्यून लागत र विपन्न नागरीकको निशुल्क आँखा उपचारमा भएको प्रयासलाई उच्च सम्मान गर्दै अभिनन्दन गरिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा दाहालले डाक्टर रुइतलाई दोसल्ला ओढाएर, सम्मान–पत्र सहित अभिनन्दन गरिएको हो ।
अभिनन्दनका क्रममा सांसद दाहालले डाक्टर रुइतले आँखा उपचारका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमानै देशको नाम उच्चराख्न सफल हुनु भएको चर्चा गर्दै उनलाई राष्ट्रले सगरमाथा जस्तै उच्च र गौरवपूर्ण सम्मान गर्नुपर्ने बताए ।
यस्तै बागमती प्रदेश सभा सदस्य क्षेत्रबहादुर बम्जनले डाक्टर रुइतले गरेको योगदानलाई उच्च सम्मान गर्दै उनको सिप र क्षेमतालाई दुर्गम क्षेत्रका नागरीकसम्म पुग्ने गरी आँखा अस्पतालको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा अभिनन्दीत भएपछि डाक्टर रुइतले आफुले व्यक्तिगत लाभका लागि कहिलै नसोची नागरीकको सेवामा समर्पित हुँदा आज यस्तो सम्मान पाउन योग्य भएको स्मरण गरे ।
उनले भने, ‘मैले नागरीकको सेवा गरेको हो । राष्ट्रको सेवा गरेको हो । आगामी दिनमा पनि मैले निस्वार्थ सेवा भाव रहिरने छु । म बाँचुन्जेल यही क्षेत्रमा सेवा गर्ने छु । अभिनन्दनका लागि यहाँहरु सबैमा आभारी छु ।’
डाक्टर रुइत यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार बाट सम्मानीत भईसकेका छन ।
कार्यक्रममा रेडक्रस सिन्धुलीका सभापति श्रेष्ठले जिल्लाको आँखा उपचार केन्द्रलाई थप प्रभावकारी बनाउन र जिल्लाका पालिका स्तरमै प्राथमिक आँखा उपचार केन्द्र स्थापनामा सहयोग गर्न डाक्टर रुइत तथा स्थानीय पालिका प्रमुखहरुसंग आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रुमख कार्साङ लामा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले डाक्टर रुइतलाई सम्मान गरेका थिए । रेडक्रसले जिल्लामा निशुल्क आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।