मरिणमा पुर्व वडा अध्यक्ष स्व.लामाको शालिक अनावरण
जेठ २८,सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष स्वर्गिय कुर्साङ लामाको सम्झनामा शालिक अनावरण गरिएको छ । मरिण गाउँपालिका वडा नम्बर ६ को कृषि हाटबजारमा पुर्व वडा अध्यक्ष स्वर्गिय लामाको शालिक अनावरण गरिएको हो ।
बागमती प्रदेशका निवर्तमान सांसद बुद्धिमान माझि(बसन्त) ले एक औपचारिक कार्यक्रमका बिच पुर्व वडा अध्यक्ष स्वर्गिय लामाको शालिक अनावरण गर्नुभएको हो । मरिण गाउँपालिकाले आर्थिक बर्ष ७९÷८० मा लामाको शालिक निर्माणको लागि १० लाख बजेट बिनियोजन गरेको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात)ले बताउनु भयो ।
जनतालाई सेवा प्रदान गर्ने क्रममानै एक कुशल जनप्रतिनिधिको कार्यकक्षमा नै हृदयघातका कारण मृत्यु भएको हुँदा सम्झनामा सम्मानका लागि शालिक निर्माण गरिएको अध्यक्ष मोक्तानको भनाई छ । उहाँले भन्नुभयो “ उहाँले जनतालाई देखाउनु भएको सपना,वडाको विकासको लागि देख्नुभएको सपना अब मरिण गाउँपालिकाले जिम्मा लिएर पुरा गर्दछ ।”
कुर्साङ लामा २०७४ सालको स्थानियतहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) बाट मरिण गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । लामाको २०७८ चैत्र ७ गते आफ्नै कार्यकक्षमा हृदयघातका कारण मृत्य् भएको थियो ।
वडा नम्बर ६ का वडा अध्यक्ष हर्कबिर माझिको अध्यक्षता तथा बागमती प्रदेशका निवर्तमान सांसद बुद्धिमान माझि(बसन्त) को प्रमुख आतिथ्यतामा भएको शालिक अनावरण कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान,उपाध्यक्ष बिमला माझि,प्रमुख प्रशासकिय अधिकृत ओम दर्जी लगायतको उपस्थिती रहेको थियो ।