मल्लागाउँका स्थानीय आफै पक्की सडक निर्माणमा जुट्दै

चैत्र ६, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ४ मल्लगाउँका स्थानीय भने जनसहभागिता सहित पक्की सडक निर्माणमा जुटेका छन् । मल्लागाउँका स्थानीय आफ्नो बस्तिमा जाने कच्चि सडकलाई पक्की बनाउन जुटेका हुन् ।
झण्डै पउने दुई लाख बराबरको जनसहभागिता सहित स्थानीयले ८८ मिटर पक्की ढलान, ५१ मिटर पक्का नाला निर्माण गरिरहेको मल्लागाउँ टोल विकास संस्थाका अध्यक्ष रेशम बहादुर पोखरेलले जानकारी दिनु भयो ।
अध्यक्ष पोखरेलले भन्नुभयो ‘यहाँको टोल विकास संस्थाले आफ्नै सक्रियतामा मल्लागाउँ भन्ञ्याङदेखि सिन्धुली बहुमुखी क्याम्पस सम्म मेसिनरीवाल, ड्रेनवाल, पिसिसि ढलान लगायतका कार्य गरिरहेका छौं,’ यस आयोजनाबाट स्थानीय एक सय ७ घरधुरी लाभान्वीत हुने छन ।
उक्त संस्थालाई बागमती प्रदेशकी निवर्तमान सांसद विजुला बर्मा राणाले संसद विकास कोषबाट दश लाख बजेट विनियोजन गरिदिएको अध्यक्ष पोखरेलको भनाई छ ।
सोही योजना अनुसार बागमती प्रदेशको प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीको ९ लाख ६० हजार र एक लाख ६९ हजार ३ सय ६ रुपैयाँ स्थानीय जनसहभागिता सहित ११ लाख ६९ हजार ३ सय ६ रुपैयाँ बराबरको काम भईरहेको छ । यस बाहेक टोल विकास संस्थाको तर्फबाट दैनिक श्रमदान भईरहेको संस्थाका सचिव बाबुराम देबकोटाको भनाई छ ।उक्त सडकमा टोल विकास संस्थाले यस अघि पनि ८ लाख रुपैयाँ बराबरको पक्की सडक निर्माण गरेको छ ।
सँस्थाका सचिव देबकोटाले भन्नुभयो ‘नगरको पाँच लाख बजेट प्राप्त भएको भएपनि स्थानीयको पहलमा थप तिन लाख गरी आठ लाख रुपैयाँ बराबरको यस अघिनै काम भएको छ । आफ्नो घर बस्तिसम्म पुग्ने सडक निर्माण कार्य गुणस्तरीय होस भन्ने उद्देश्य राखेर उपभोक्ताहरु सक्रियताका साथ काममा खटेका छौं ।’ बस्तिनै अगाडी बर्दिबास–सिन्धुली–बनेपा (विपी) राजमार्गमा छ । तर भित्री सडकमा भने एम्बुलेन्स समेत जान समस्या हुनेगरेपछि स्थानीयहरु आफ्नो जनसहभागिता सहित पक्की सडक निर्माणमा जुटेका हुन ।