• फागुन ३, सिन्धुली/जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा चालु आर्थिक बर्षमा महिला तथा बालबालिका सम्बन्धि जघन्य अपराधका घटना कम दर्ता भएको छ । चालु आर्थिक बर्षको ७ महिनामा अघिल्लो बर्ष भन्दा दर्ता कम भएको पाइन्छ ।
    अघिल्लो बर्ष जबरजस्तीकरणीको ४६ वटा मुद्धा दर्ता भएकोमा यस आ.व.को ७ महिनामा २० वटा मात्रै मुद्दा दर्ता भएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी हवल्दार उमा घलानले जानकारी दिनुभयो । हवल्दार घलानका अनुसार जबरजस्तिकरणी उद्योगमा ४ वटा, बहुबिवाहमा ३ वटा मुद्धा दर्ता भएका छन् ।
    बालबिबाह, मानव बेचबिखन तथा ओसारप्रसार, कर्तव्य ज्यान, बालयौन दुरुपयोग, अपहरण तथा शरिर बन्धक, बोक्सि आरोप लगायतका अपराधका घटना माघ महिना सम्ममा एउटा पनि दर्ता नभएको प्रहरी हवल्दार घलानले जानकारी दिनुभयो ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अघिल्लो आर्थिक बर्षमा घरेलु हिंसाका १ सय ३ वटा मुद्धा दर्ता भएकोमा चालु आर्थिक बर्षको माघ महिना सम्ममा ५८ वटा मात्र मुद्धा दर्ता भएका छन् ।
    पहिलेको तुलानामा यो बर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा घटना दर्ता क्रम हेर्दा घटना कम भएको पाइएको प्रहरी हवल्दार उमा घलानले बताउनु भयो । सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको घटना बढि हुने क्षेत्र टोल,वडा तथा पालिकामा सचेतनामुलक कार्यक्रम निरन्तर सन्चालन गरिरहेको छ ।