• भाद्र १८, सिन्धुली/नेकपा माओवादी केन्द्र सिन्धुलीका सबै पालिका कमिटिले मंसिर ४ गते हुने निर्वाचनमा संघीय निर्वाचन क्षेत्र नं. १ र २ मा पार्टीको पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दहाल (राजन)लाई सिफारिस गरेको छ ।
    शनिवार बसेको ९ ओटै पालिका कमिटिको बैठकले संघीय निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फ राजन दाहाललाई सिफारिस गरेको हो । सिन्धुलीमा दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेका छन् । पार्टीको ९ ओटै पालिका कमिटिले राजन दाहाललाई सर्वसहमत प्रत्यक्ष तर्फ उमेद्वार सिफारिस गरेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पानीराज बम्जनले जानकारी दिनुभयो । पार्टीको उपमहासचिव तथा सांसद हरिबोल गजुरेल समानुपातिक तर्फ सिफारिस हुनुभएको छ ।
    पालिका कमिटिबाट आएको सिफारिसको आधारमा प्रदेश निर्वाचन क्षेत्रीय कमिटि र संघीय निर्वाचन कमिटिले छलफल गरेर प्रदेश कमिटि र केन्द्रिय कमिटिलाई सिफारिस गर्ने व्यवस्था रहेको छ । पालिका कमिटिबाट प्रदेश सभा सदस्यका लागि पनि सिफारिस गरेको छ । तर कुनै पनि पालिकाबाट सर्वसहमत उमेद्वार सिफासि हुन नसकेको माओवादी केन्द्र सिन्धुलीले जनाएको छ । पालिकाबाट सिफारिस भएका प्रत्यक्ष र समानुपातिक उमेद्वारहरुलाई प्रदेश निर्वाचन क्षेत्रीय कमिटि र संघीय निर्वाचन क्षेत्रीय कमिटिबाट निर्णय गरेर सिफारिस गरिनेछ ।