• सिन्धुली/बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाललेे वन पैदावारलाई आयआर्जनमा जोड्नु पर्ने वताउनुभएको छ । सोमवार कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको सामुदायिक सःमिल तथा फर्निचर सप्लायर्स उद्योगको उद्घाटन गर्दै मन्त्री नेपालले उमेर पुगेका वढापढा तथा सुखडखडा रुख तथा वन पैदावार स्थानीय स्तरमा नै प्रशोधन गरेर आयआर्जनमा जोड्नु पर्ने बताउनुभयो ।
    “वन पैदावर प्रकृया पूरा गरेर वाहिर निकासी हुन्छ, जसले गर्दा संरक्षण गर्ने उपभोक्ताले प्रत्यक्ष फाईदा लिन सकिरहेको छैन, तर यस्ता समुदायमा आधारित सःमिल तथा फर्निचर उद्योगहरु सञ्चालन हुने हो भने यहाँका श्रमिकहरु प्रत्यक्ष श्रममा जोडिन पाउँछन् र आयआर्जनमा सहभागि हुन पाउँछन्” मन्त्री नेपालले भन्नुभयो । मन्त्री नेपालले सिन्धुलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले हरिहरपुरगढी र सिन्धुलीगढीलाई उच्च प्राथमिकतामा राखेको समेत
    उल्लेख गर्नुभयो । समृद्ध नेपाल निर्माणको आधार भनेको कृषि र पर्यटनको विकास भएको मन्त्री नेपालको भनाई छ । सिन्धुलीगढी र हरिहरपुरगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र मरिण क्षेत्रमा लिच्ची पकेट क्षेत्र वनाएर कृषि प्रवद्र्धन गर्न प्रदेश सरकार लागिपरेको वहाँको भनाई छ ।
    सरस्वती सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको सामुदायिक सःमिल तथा फर्निचर उद्योग बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायको सहयोगमा निर्माण भएको हो । समुदायमा आधारित उक्त सःमिल बागमती प्रदेशको नै पहिलो सामुदायिक सःमिल तथा फर्निचर उद्योग हो । सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हितलाल श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको प्रमुख आतिथ्यतामा सामुदायिक सःमिल उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन नन्दलाल श्रेष्ठले गर्नुभएको थियो ।

    बागमती प्रदेशकै पहिलो सामुदायिक सःमिल तथा फर्निचर उद्योग भएकाले उपभोक्ताहरुको साथ र सहयोग प्राप्त गर्न सकिनेमा आफूहरु आसावादी रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं सःमिल सन्चालक हितलाल श्रेष्ठले बताउनुभयो । सामुदायिक वन उपभोक्ता समूह र यसका उपभोक्ताहरुसंग सःमिलको प्रत्यक्ष सम्वन्ध रहेकाले आफूले लिने काठ चिर्नका लागि सःमिलको प्रयोग गर्न सम्पूर्ण उपभोक्ताहरुलाई अध्यक्ष श्रेष्ठले आग्रह समेत गर्नुभएको छ ।