• सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा निर्माणाधिन आइसोलेशन भवन निर्माणका लागि सहयोग जुट्ने क्रम निरन्तर छ । यसैक्रममा आइसोलेशन भवन निर्माणका लागि एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीले १ लाख ८४ हजार १ सय रुपैयाँ सहयोग गरेको छ ।
    जिल्लामा कार्यरत एकिकृत अखिल नेपाल शिक्षक संगठन आवद्ध १८४ जना शिक्षकहरुबाट संकलित उक्त रकम संगठनका अध्यक्ष बिजय थिङ्ले शनिबार आइसोलेशन भवन निर्माण समितिका अध्यक्ष अशोक श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । संगठनमा आवद्ध शिक्षकहरुमध्ये सम्पर्कमा आएका १८४ जना शिक्षकहरुबाट प्रति शिक्षक १ हजारका दरले रकम संकलन गरेर निर्माणाधिन आइसोलेशन भवनका लागि सहयोग गरेको संगठनका सचिव कविन्द्र गौतमले जानकारी दिनुभयो ।
    रकम सहयोग गर्ने शिक्षकहरुमा सुनकोशी गाउँपालिकामा कार्यरत ४२ जना, मरिण गाउँपालिकामा कार्यरत ३६ जना, कमलामाई नगरपालिकामा कार्यरत २७ जना, घ्याङ्लेक गाउँपालिकामा कार्यरत २४ जना, गोलन्जोर गाउँपालिकामा कार्यरत १८ जना, तिनपाटन गाउँपालिकामा कार्यरत १५ जना, हरिहरपुरगढी गाउँपालिकामा कार्यरत २० जना तथा फिक्कल गाउँपालिका र दुधौली नगरापालिकामा कार्यरत १/१ जना रहेका छन् । कोरोना भाइरसका कारण लाग्ने रोग कोभिड–१९ का संक्रमितहरु बढिरहेकाबेला जिल्लामा निर्माण भैरहेको आइसोलेशन भवन निर्माणका लागि संगठनले गरेको सानो सहयोग पनि महत्वपूर्ण हुनेभएकाले उक्त रकम सहयोग गरेको संगठनका अध्यक्ष बिजय थिङ्ले बताउनुभयो ।
    त्यसो त आइसोलेशन भवन निर्माणका लागि स्फूर्त रुपमा निर्माण सामाग्री संगै नगद सहयोग प्राप्त भैरहेको छ । व्यक्ति, संघसँस्था, प्रतिष्ठान, उद्योगी, व्यवसायी, समूह, कन्स्ट्रक्सन लगायत अन्य संगठनहरुबाट पनि सहयोग आइरहेको छ । १४ दिन आइसोलेशनमा बसेर कोरोनालाई जितेर फर्किएका गोलन्जोर १ डुँडभन्ज्याङ च्याकुटारका सचिन न्यौपानेले आइसोलेशन भवन निर्माणका लागि व्यक्तिगत रुपमा नै ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै गैरसरकारी संस्था महासंघ सिन्धुलीको समन्वयमा जिल्लामा कार्यरत ९ वटा गैरसरकारी सँस्थाहरु मिलेर ८८ हजार ७ सय रुपैयाँ सहयोग गरेका छन् । सहयोग गर्ने गैरसरकारी सँस्थाहरुमा सामूहिक सरोकार समाज, श्री सिन्धुली, ग्रामिण महिला चेतना केन्द्र, सामुदायिक विकास कार्यक्रम, सहकार्य नेपाल, हेन्ड्स नेपाल, हुडेक सिन्धुली, जिल्ला लघु उद्यमी संघ र जनजाती विकास समाज सिन्धुली रहेका छन् । त्यसैगरी इम्मानुएल कन्स्ट्रक्सनका छेत्रमान बम्जनले २०० बोरा ओपिसी सिमेन्ट सहयोग गर्नुभएको छ ।
    कोरोनाले थिलथिलो पारिरहेको अवस्थामा स्वास्थ्य सेवा जस्तो मानवीय जीवनसंग सम्वन्धित विषयमा कसैले पनि खेलवाड गर्न नहुने सरोकारवालाहरु बताइरहेका छन् । सहयोग सानो र ठूलो, धेरै र थोरै भन्नेले असर नपार्ने त्यसको महत्व समान हुने कुरा स्वाभाविक छ । जिल्लामै निर्माणको अन्तिम चरणमा पुगेको ५० शैयाको कोभिड अस्पताल निर्माणमा सबैले स्फूर्त रुपमा सहयोग गर्नु मानव सेवामुखि कर्म पनि हो ।