सिन्धुलीमा ९०.१६ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ
सिन्धुली/सिन्धुलीमा ९०.१६ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हिजो दिउँसो करिब २ः३० बजेको समयमा सुनकोशी गाउँपालिका १ स्थित दुम्जा बजार नजिकै बीपी राजमार्गमा चेकजाँचका क्रममा युवक पक्राउ गरीएको हो ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबास र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३-०२-००१ प.१६२२ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका ४ ढल्केवर निवासी २९ वर्षीय मन्जित योञ्जनले बोकेको ‘जोर्डन’ लेखिएको कालो झोलाभित्र रहेको कालो प्लास्टिकमा सेतो प्लास्टिकले बेरिएका दुई प्याकेट खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनकारी दिएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा योञ्जन भाग्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई समेत फायर गरेको थियो । त्यसपछि ९०.१६ ग्राम तौलको उक्त पदार्थ र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका योञ्जनमाथि इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनकारी दिएको छ ।


