भिमानमा कात्तिक १९ गते वडा स्तरीय म्याराथन प्रतियोगिता हुँदै

सिन्धुली/दीपावली तथा छठ पर्व २०८३ को अवसरमा सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा वडा स्तरीय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।

‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित वडा कार्यालयको आयोजनामा आगामी कात्तिक १९ गते बिहीबार प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा महिला र पुरुषतर्फ चार-चार गरी आठ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । १२ देखि १८ वर्ष, १९ देखि ३० वर्ष, ३१ देखि ५५ वर्ष र ५६ देखि ७० वर्ष उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कात्तिक १७ गते दिउँसो २ः३० बजेसम्म वडा कार्यालयमा नाम दर्ता गराइसक्नुपर्नेछ । सहभागीले जन्मदर्ता वा नेपाली नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ । उक्त कागजात नभएको अवस्थामा नाम, उमेर र स्थायी ठेगाना खुल्ने अन्य कागजात अनिवार्य गरिएको छ ।

१९ देखि ३० वर्ष र ३१ देखि ५५ वर्ष उमेर समूहका सहभागीले दर्ता शुल्कबापत एक सय रुपैयाँ बुझाउनुपर्नेछ भने १२ देखि १८ वर्ष र ५६ देखि ७० वर्ष उमेर समूहका सहभागीलाई दर्ता शुल्क नलाग्ने वडा कार्यालयल जनकारी दिएको छ ।

प्रतियोगिताका क्रममा सहभागीहरु घाइते भएमा प्राथमिक उपचारबाहेक थप उपचारको व्यवस्था स्वयं सहभागीले गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक उमेर समूहका प्रथम, द्वितीय, तृतीय र चौथो हुने खेलाडीलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ आयोजकले जानकारी दिएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *