धान भित्र्याउने बेला वर्षा भएपछि किसान चिन्तित

सिन्धुली/वर्षभरि पसिना बगाएर फलाएको धान भित्र्याउने बेला प्रकृतिले साथ नदिँदा सिन्धुलीका किसान चिन्तित बनेका छन् ।

गए रातिदेखि परेको निरन्तर वर्षाका कारण काटेर खेतमै सुकाउन राखिएको धान भिजेपछि सिन्धुलीका किसानलाई यतिबेला  पाकेको बाली कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।

कमलामाई नगरपालिका ४ का किसान शम्भु आछामेले २० कठ्ठा जग्गामा धान खेती गर्नुभएको छ । काटेर खेतमै राखेको धान वर्षाले भिजेपछि उहाँ अहिले घाम लाग्ने आशामा हुनुहुन्छ । घाम लागे धान सुकाएर भित्र्याउन सकिने आशा रहे पनि फेरि ठूलो पानी परे वर्षभरिको मेहनत खेर जाने हो कि भन्ने चिन्ता अहिले उहाँलाई छ ।

त्यस्तैगरी कमलामाई ४ कै किसान कमला मग्रातीले पनि ८ कठ्ठा जग्गामा धान रोप्नुभएको थियो । उहाँको पनि काटेर राखेको सबै धान वर्षाले भिजेको छ । पानी रोकिए धान सुकाउन पाइन्थ्यो भन्ने आशामा उहाँ हुनुहुन्छ । मौसमको अनुमान अनुसार पानी पर्ने सम्भावना रहेकाले धान काट्न ढिलाइ गर्दा पनि समस्या र काटिसकेपछि भिज्दा पनि समस्या भएको उहाँ बतानुहुन्छ ।

सिन्धुलीमा यी दुई किसानको मात्रै होइन सिन्धुलीका अधिकांश किसानको काटेर खेतमै राखिएको धान वर्षाले भिजेको छ । केही किसानले भने धानके मुठा बनाएर बिटा लगाइसकेका छन् । धान भिजेपछि अहिले किसानलाई त्यसलाई सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने चुनौती थपिएको छ ।

मौसमविद्हरूका अनुसार अझै दुई दिनसम्म वर्षा हुने सम्भावना छ । वर्षा थप लम्बिए खेतमा काटेर राखिएको धानमा थप क्षति पुग्ने जोखिम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *