हरिहरपुरका हरिया फाँटमा सुनौला मकै
सिन्धुली/हरिहरपुरगढी गाउँपालिकाले कृषि क्षेत्रमा एउटा ऐतिहासिक फड्को मारेको छ । जिल्लामै पहिलोपटक पालिकाद्वारा उत्पादित तथा वितरित ‘रामपुर हाइब्रिड १०’ जातको मकैको बीउले यहाँका किसानहरूलाई आत्मनिर्भरताको नयाँ बाटो देखाउन सफल भएको छ ।
नयाँ मकैको बीउबाट सोचेभन्दा बढी उत्पादन भएपछि गाउँका दर्जनौँ किसानले यसबाट राम्रो लाभ लिएका छन् । जसमध्ये मकै खेतीबाटै लाखौँ आम्दानी गर्न सफल किसान हुन् धीरेन्द्र राई । यो गाउँपालिकाकै एक उदाहरणीय र परिश्रमी किसानका रूपमा स्थापित नाम हो । हरिहरपुरगढी गाउँपालिका वडा नं.२ जखौलीका धीरेन्द्रको परिचय हिजोआज फेरिएको छ । उनी केवल माटो खन्ने किसान मात्र होइनन्, लाखौँ आम्दानी गर्ने एक व्यावसायिक र सफल कृषक हुन् ।
यो सफलताको श्रेय जान्छ उनको अथक परिश्रम र हरिहरपुरगढी गाउँपालिकाले जिल्लामै पहिलोपटक वितरण गरेको ‘रामपुर हाइब्रिड १०’ जातको मकैको बिउलाई । यस वर्षको मकै उत्पादनबाट उनी निकै उत्साहित छन् । विगतका वर्षहरुमा भन्दा यस पटक उनको बारीमा मकै निकै राम्रो फल्यो ।

पालिकाले यस वर्ष जिल्लामै पहिलो पटक रामपुर हाइब्रिड–१० जातको मकैको बिउ ३० प्रतिशत अनुदानमा पालिकाका ४ सय २३ जना किसानहरुलाई वितरण गरेको थियो । जसमध्ये धीरेन्द्र पनि एक हुन् । प्रदेश बिउ विजन प्रयोगशाला हेटौँडाको सहयोगमा आफ्नै पालिका परिसरमा स्वदेशी बिउ उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिउ उत्पादन गरिएको हो ।
धीरेन्द्रले यस वर्ष मकै बेचेर करिव ९ लाखको कारोबार गरे । मकै बेचेर राम्रो आम्दानी गर्ने किसानको पहिलो नाममा उनको नाम आउँछ । मकैखेतीबाट पनि आफ्नो जिविका चलाउन सकिन्छ भन्ने उदारण बनेका छन् हरिहरपुरगढी २, जखौलीका किसानहरु ।
सोही बीउलाई धीरेन्द्रले आफ्नो १६ कठ्ठा जमिनमा रोपे । त्यसबाट करिब साढे तीन क्विन्टल मकै उत्पादन भयो । राईले यसअघि विभिन्न प्रजातीका मकैको बिउ बजारबाट ल्याएर रोप्न गर्थे । त्यसबाट कहिले किरा लाग्ने, कहिले कुहिने जस्ता रोगहरु लागेर दिक्क बनाउँथ्यो । तर यस वर्ष भने पालिकाले अनुदानमा दिएको रामपुर हाइब्रिड–१० जातको मकैको बीउबाट उत्पादन राम्रो भयो । गत वर्षहरुको जस्तो रोगहरुबाट जोखीम लिनुनपरेको राईले सुनाए । अझ अर्को खुशीको कुरा त यस वर्षको मकैको दाना पनि ठूलो र स्वस्थ देखिए । जसले गर्दा विक्री वितरणमा त्यति समस्या भएन ।
पालिकाले दिएको बीउबाट निकै राम्रो उत्पादन भएपछिको खुशी सुनाउँदै उनले भने “आगामी वर्ष पनि सबै खेतवारीमा यही मकै लाउँछु । दुःख गरेर खेती गरेपछि उत्पादन राम्रो होस् भन्ने किसानको अपेक्षा हुन्छ नै । यसअघि सोचे अनुरुपको उत्पादन भएन । तर यस वर्षको उत्पादनले हामीलाई निकै उत्साहित बनाएको छ ।” पालिकाले किसानलाई यस्तो प्रकारको सहयोग गरेकोमा राईले पालिकालाई धन्यवाद दिएका छन् । त्यसो त पालिकाले किसानलाई बीउ मात्र वितरण गरेको छैन् । समय समयमा आवश्यकता अनुसार किसानको खेतवारीमै पुगेर प्राविधिक तथा अन्य परामर्श दिनेगरेको राई सँगै लाभ लिने अरु किसान पनि बताउँछन् ।

धीरेन्द्रले यस वर्ष मकै बेचेर करिव ९ लाखको कारोबार गरे । मकै बेचेर राम्रो आम्दानी गर्ने किसानको पहिलो नाममा उनको नाम आउँछ । मकैखेतीबाट पनि आफ्नो जिविका चलाउन सकिन्छ भन्ने उदारण बनेका छन् हरिहरपुरगढी २, जखौलीका किसानहरु ।
त्यस्तै अर्का किसान कृष्ण राईले पनि यस वर्ष २२ कट्ठा जमिनमा रामपुर हाइब्रिड–१० जातको मकै रोपे । स्थानीय किसान हरी विकले पनि यही बीउ रोपेर भएको उत्पादनबाट राम्रो रकम जाहो गर्न सफल भए । कृष्ण राई भन्छन् “पालिकाले दिएको बीउ र प्राविधिक परामर्श साँचिक्कै प्रसंशायोग्य छ ।”
रामपुर हाइब्रिड–१० जातको मकैको बीउ हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ का करिव ६० जना भन्दा धेरै किसानले लागाएका थिए । किसानहरुका अनुसार योे मकैको बीउले राम्रो उत्पादन गरेको छ । उत्पादन राम्रो भएपछि किसानहरुले अर्काे आर्थिक वर्ष पनि सोहि बीउका लागि बजेट बिनियोजन गर्न पालिकालाई आग्रह गरे । जस अनुरुप यस आगामि आर्थिक वर्षको बजेटमा पनि उक्त बीउका लागि नीति तथा कार्यक्रम समावेश गरिएको पालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले जानकारी दिए ।
स्थानीय किसानहरूका अनुसार गुणस्तरीय बीउसँगै समयमै प्राविधिक परामर्श र अनुकूल मौसमका कारणले गर्दा पनि यस वर्ष मकै उत्पादन उल्लेखनीय रूपमा बढेको हो । त्यसो त कृषि क्षेत्रमा गुणस्तरीय बीउको प्रयोगले पनि प्रत्यक्ष रूपमा उत्पादनमा प्रभाव पार्ने गर्दछ । जुन कुरा जखौलीका किसानले गरेको उत्पादनबाट प्रष्ट हुन्छ । उत्पादित मकै घरमा प्रयोग गर्न राखेर बाँकी मकैको विक्री वितरणबाट किसानले राम्रो आम्दानी गर्न सफल भएका छन् ।
गाउँपालिकाका कृषि शाखा प्रमुख प्रवेश देवकोटाको अनुसार किसानहरूको उत्पादन तथा आय वृद्धि गर्ने उद्देश्यले उन्नत जातको बिउ वितरण गरिएको हो । यस कार्यक्रमबाट सकारात्मक नतिजा प्राप्त भएकाले आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको र योजना सफल बनाउँन यस वर्षको नीति, बजेट तथा कार्यक्रममा पनि ३ लाख रुपैयाँ बजेट बिनियोजन गरीएको उनले जानकारी गराए ।

स्थानीय सरकारको यस्तो सर्हानीय कदमले कृषि उत्पादनमा वृद्धि मात्र गरेको छैन, परम्परागत खेतीपाती गरिरहेका किसानहरूलाई व्यावसायिकतातर्फ आकर्षित समेत गरेको छ । ‘रामपुर हाइब्रिड–१०’ मकैप्रति किसानको बढ्दो मोहले हरिहरपुरगढीको कृषि क्रान्तिलाई प्रस्ट्याउँछ । पालिकाको प्रोत्साहन र अनुदानले कृषकहरूको आत्मविश्वास मात्र बढाएको छैन, उनीहरूको जीविकोपार्जनलाई समेत सहज बनाएको छ । स्थानीय किसानहरुका लागि थप प्रभावकारी कार्यक्रम सन्चालनका लागि पालिका सदैव तयार रहेको पालिकाका अध्यक्ष बज्रध्वज वाइवाले बताए ।
“सुखी पालिकावासी, समृद्ध पालिका” निर्माणको महाअभियानमा कृषि क्षेत्रले अहम् भूमिका खेल्ने निश्चित छ । यसका लागि आगामी दिनमा गुणस्तरीय बीउ, आधुनिक प्रविधि र प्राविधिक सहयोगलाई अझ व्यापक बनाउँदै लैजानु आवश्यक देखिन्छ । अन्ततः माटोमा पसिना बगाउने किसानका लागि स्थानीय सरकार साँच्चै आड भरोसा बनेर उभिएको आभास हरिहरपुरगढीका हरियाली फाँटहरू र किसानका हँसिला अनुहारले दिइरहेका छन् । यसको अर्काे स्पष्ट उदाहरण वडा नं.२ जखौलीका किसानहरु हुन् ।
(हरिहरपुरगढी गाउँपालिकाको सहयोगमा तयार गरिएको)



