सिन्धुली अस्पतालको बेड नं. ३३, जहाँ १४ महिनादेखि उपचाररत छन् तीनपाटनका तेजबहादुर

सिन्धुली/तेजबहादुर सिञ्जाली मगर । बिगत २८ महिनादेखि कोमामा रहेका बिरामीको नाम हो यो । सिन्धुलीको तीनपाटन गाउँपालिका घर भएका सिञ्जाली अहिले जिल्ला अस्पताल सिन्धुलीको ३३ नम्बर वेडमा उपचारत छन् ।
उनको २८ महिना पहिले मोटरसाइकलमा परी दुर्घटना भएको थियो । तेजबहादुरले चलाएको ज ८ प ६४५८ नम्बरको मोटरसाइकललाई तीनपाटन–९ का शेषराज पहाडीले चलाएको वा.प्र ०१०२७ च ४३७२ नं को बोलेरोले ठक्कर दिएको थियो । कमलामाईबाट तीनपाटन–११ तर्फ जाँदै गरेको मोटरसाइकललाई सोही स्थानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरोले तीनपाटन–२ गैरीमा ठक्कर दिएपछि गम्भीर घाइते भएका तेजबहादुर त्यसयता कोमामा छन् ।
सिन्धुली अस्पतालको बेड नम्वर ३३ मा उपचाररत सिञ्जालीको साथमा अहिले उनकी श्रीमती छिन् । श्रीमानको उपचारका लागि दैनिक १५ सय देखी २ हजारको औषधी लाग्ने उनको भनाई छ । उनका अनुसार श्रीमान्को उपचारका लागि अहिलेसम्म लगभग ५० लाख भन्दा धेरै खर्च लागिसकेको छ ।
गाडी चालक तथा गाडीधनी शेषराज पहाडीले जिल्ला प्रशासन कार्यालयमा बिरामीको उपचारका लागि रु.२० लाख दिने सहमति उतिबेलै गरेका थिए । सोही सहमति बमोजिम दिनुपर्ने रकममध्ये हाल सम्म पाँच लाख मात्र प्राप्त भएको र बाँकी रकम नपाएको बिरामीकी श्रीमती विमला रमौलीले जानकारी दिनुभयो । चार महिनामा तिर्ने शर्तमा कागज गरीएको थियो । तर एक वर्ष बितिसक्दा समेत बाँकी रकम नपाएको उनको गुनासो छ । प्रहरी प्रशासनले पनि यो विषयमा ढिलासुस्ती गरेको रमौलीको भनाई छ ।
उपचारका लागि चिनजानको मान्छे, आफन्ततहरु र गाउँलेहरुबाट ल्याएको पैसा मयमा तिर्न नसक्दा दबाब आईरहेको रमौलीको दुखेसो छ । तेजबहादुर दुर्घटनामा परेपछि सिन्धुलीबाट उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँको हेम्स अस्पताल लगिएको थियो । त्यहाँ १० दिनमा लगभग १२ लाखभन्दा बढी खर्च भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल सारिएको थियो । त्यहाँ उपचार खर्च महँगो भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सिन्धुली फर्काइएको हो ।
तेज बहादुरलाई १४ महिनादेखि सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ मा भर्ना गरेर राखिएको छ । आर्थिक अभावका कारण उपचारमा मात्रै होइन बिरामीलाई खुवाउन समेत समस्या भइरहेको छ । श्रीमती बिमला रमौलीले सवैसंग सहयोगको लागि अपिल गर्नुभएको छ । सहयोगी मन भएका व्यक्ति, सरकारी निकाय, संघ सँस्था तथा सम्पूर्ण मनकारीहरुलाई सकेको सहयोग गरेर श्रीमान्को उपचारका लागि सहयोग गरिदिन रमौलीले आग्रह गर्नुभएको छ ।
पिडितलाई न्याय दिने सवालमा स्थानीय प्रशासनले कुनै कन्जुस्याँइ नगरोस् । हामी पनि सम्पूर्णमा अपिल गर्छाैँ–आफ्नो दैनिक खर्चबाट उभारेर भएपनि सिन्धुली अस्पतालको बेड नम्बर ३३ मा उपचाररत तेज बहादुरको उपचारका लागि सवैले सहयोग गरौँ ।