स्टेशनरी व्यवसायी महासंघ सिन्धुलीद्धारा शैक्षिक सामाग्री वितरण
सिन्धुली/कमलामाई नगरपालिका वडा नम्वर ५, शाखाजोरमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । १२ औँ पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ शाखा सिन्धुलीले शैक्षिक सामाग्री वितरण गरेको हो । स्टेशनरी व्यवसायी महासंघ सिन्धुलीले हरेक वर्ष पुस्तक दिवसको अवसर पारेर सरस्वती पुजाको दिन कुनै एउटा विद्यालयमा शैक्षिक सामाग्री उपलव्ध गराउँदै आएको छ ।
विशेषगरि अभिभावकको आयश्रोत न्युन भएको, विपन्न समुदाय तथा शैक्षिक सामाग्री खरिद गरि प्रयोग गर्न समस्या भएका बालबालिका अध्ययन गर्ने विद्यालयमा शैक्षिक सामाग्री उपलव्ध गराउँदै आएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ शाखा सिन्धुलीले यसपटक उक्त विद्यालयमा शैक्षिक सामाग्री उपलव्ध गराएको हो । संघको जिल्ला शाखामा आवद्ध फर्म तथा सप्लायर्सहरुबाट संकलन गरिएको शैक्षिक सामाग्री सोमबार एक औपचारिक कार्यक्रमकावीच वितरण गरिएको छ ।
जिल्ला शाखा सिन्धुलीका अध्यक्ष किरण कुमार श्रेष्ठको अध्यक्षता तथा स्थानीय समाजसेवी हितलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले कहिँ कसैले पनि सहयोगको प्राथमिकतामा नराखेको अवस्थामा स्टेशनरी व्यवसायी महासंघ सिन्धुलीले विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलव्ध गराएको भन्दै खुसी व्यक्त गर्नुभयो । सरस्वती आधारभूत विद्यालयको स्थापना देखि वर्तमान अवस्थासम्म आफू र स्थानीयको निकै श्रम र संघर्ष रहेको स्मरण गराउँदै श्रेष्ठले उक्त विद्यालय स्थानीय सरकारको प्राथमिकतामा नरहेकोप्रति गुनासो व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक सावित्रा कुमारी थापामगरले आफ्नो विद्यालयलाई प्राथमिकतामा राखेर बालबालिकाहरुका लागि शैक्षिक सामाग्री उपलव्ध गराएर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ शाखा सिन्धुलीले विद्यालयलाई ठूलो गुन लगाएको बताउनुभयो । जिल्लामा व्यवसाय गरिरहेका स्टेशनरी व्यवसायीहरुबाट संकलन गरिएको ४० दर्जन कपि, ४० प्याकेट पेन्सिल र ५ दर्जन डट्पेन उक्त विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयमा रहेका बालविकास देखि कक्षा ५ सम्मका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको शाखा सिन्धुलीका अध्यक्ष किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।