पत्रकारले आस र त्रासबाट मुक्त भएर कलम चलाउनुपर्छ : सांसद दाहाल
सिन्धुली/नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सांसद लेखनाथ दाहाल (राजन) ले आस र त्रासबाट मुक्त भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।
शनिवार प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौँ साधारण सभा एवं पाचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै वहाँले अव्वल र आत्मनिर्भर भएर पत्रकारिता गर्नका लागि आस र त्रास दुवैले अवरोध सिर्जना गर्ने धारणा राख्नुभयो । खराबलाई राम्रो र राम्रोको ज्यादा आलोचना मात्र लेख्ने पत्रकार हुन नसक्ने भन्दै सांसद दाहालले भन्नुभयो ‘अहिले आलोचना छिटो विकिरहेको छ भने प्रशंसा र प्रोत्साहन छाँयामा परिरहेको छ ।’
अधिवेशनले कुशल नेतृत्व चयन गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद दाहालले पत्रकारहरुसंग विवेकको कला हुनेभएकाले विवेक नगुमाउन सुझाव समेत दिनुभयो । स्वच्छ र स्वतन्त्र पत्रकारीता आजको आवश्यक्ता भएको दाहालको भनाई छ ।
प्रेस सेन्टर नेपाल सिन्धुलीको पाचौँ अधिवेशन बुद्ध नेपालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्दै सकिएको छ ।