सरस्वती प्राविको चार कोठे पक्की भवन शिलान्यास
सिन्धुली/हरिहरपुरगढी गाउँपालिका-८ जमुनियास्थित सरस्वती शिशु बाल प्राथमिक विद्यालयमा चार कोठे पक्की भवन बन्ने भएको छ । उक्त भवनको आज गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले शिलान्यास गर्नुभयो ।
संघीय सरकारको विशेष अनुदानको बजेटबाट गाउँपालिकाले पक्की भवन निर्माण गर्न लागेको हो । पक्की भवन नहुँदा यहाँका विद्यार्थीहरु वर्षौंदेखि जस्ताको छानामुनि बसेर पढ्नुपर्ने बाध्यता थियो । विद्यालय व्यवस्थापन समिति र विद्यालयकी प्रधानाध्यापक रस्मी पन्तले निरन्तर ताकेता गरेपछि गाउँपालिकाले पक्की भवनको योजना चालु आर्थिक वर्षको बजेटमा समेटेको हो ।
वडा नम्बर ८ का अध्यक्ष धनबहादुर मोक्तानको अध्यक्षतामा भएको शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष वाइबाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार निर्माणमा पालिकाले काम गरिरहेको बताउनुभयो । अब शिक्षामा सुधार ल्याउने जिम्मेवारी शिक्षक, विद्यार्थी र अभिभावकको हुने उहाँको भनाइ थियो ।
“बाहिरबाट हेर्दा चट्ट परेको भवन भएर मात्रै हुँदैन । विद्यार्थीहरुलाई प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक छ,’’ उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाबाट प्रदान गर्ने भवन, शैक्षिक सामग्री, खानेपानी, बिजुली, सूचना प्रविधि सबै नै सुविधा प्रदान गरेका छौं ।”
चालु आर्थिक वर्षभित्र गाउँपालिकाभित्रका ७ वटा प्राविको भवन निर्माण सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई समयावधिभित्रै इमानदारिपूर्वक गुणस्तरीय भवन निर्माण गरेर हस्तान्तरण गर्न निर्देशन दिनुभयो । भवनको संरचना गुणस्तरहीन भएको पाइएमा गाउँपालिकाबाट बजेट रोक्का गरिदिने चेतावनीसमेत दिनुभयो ।
सोही कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले गाउँपालिकाभित्र केही योजनाहरु आधामात्रै काम सकेर अलपत्र रहेको भन्नुहुँदै समयावधिमै भवन सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा ७ नम्बर वडाका अध्यक्ष बीचबहादुर मोक्तान, वडा सदस्य छलिमाया मोक्तान, गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनी, योजना शाखा प्रमुख राजु उप्रेती, इन्जिनियर बेन्जामिन श्रेष्ठ, सब इन्जिनियर विश्व थापा मगर, कमल आछामीलगायतको उपस्थिति रहेको थियो ।
उक्त विद्यालय भवन ९३ लाख ५९ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । भवन निर्माणको जिम्मा सिकाक हुस्से/गडुर जेभीले पाएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले आगामी जेठ २५ गतेभित्र भवनको काम सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।