मदनभण्डारी लोकमार्गदेखि चपरा जोड्ने पक्की सडकको शिलान्यास

सिन्धुली/हरिहरपुरगढी गाउँपालिकामा मदनभण्डारी लोकमार्गदेखि चपरा जोड्ने पक्की सडक निर्माण सुरु भएको छ । हरिहरपुरगढी-३ गुर्जीमा सोमबार आयोजित एक समारोहबीच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले मदनभण्डारी लोकमार्ग-हरिहरपुरगढी-जितपुरगढी-कामीडाँडा-चपरा सडकको शिलान्यास गर्नुभएको हो ।
सांसद दाहालले देशैभर कुनै बहुवर्षीय योजना स्वीकृत नहुने सन्दर्भमा तत्काल आएको बजेट सदुपयोग गर्ने उद्देश्यले यो सडक निर्माण कार्य प्रारम्भ गरिएको बताउनुभयो । उक्त सडक निर्माण कार्यमा बजेट अभाव हुन नदिने बताउनुहुँदै सांसद दाहालले विनियोजित बजेट सकिनेबित्तिकै थप बजेटका लागि पहल लिइने जानकारी दिनुभयो ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत ५९ लाख ९८ हजार रुपैयाँमा ठेक्का सम्झौता भइ सो पक्की सडक निर्माण गर्न लागिएको हो । विभागले ९६ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको भए पनि सिद्धलेख निर्माण सेवा एण्ड सप्लायर्स प्रालिले ५९ लाख ९८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएको हो । निर्माण कम्पनीले आगामी जेठ मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
उक्त सडक निर्माण सम्पन्न भएपछि वर्षौंदेखि सास्ती बेहोरिरहेका यस क्षेत्रका जनताले राहत पाउने सांसद दाहालले बताउनुभयो । उहाँले विकास बजेटको सही सदुपयोगका लागि जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो । ‘‘विकास बजेट कहाँबाट आएको हो, कहाँ खर्च भयो भन्नेमा सबै जानकार हुनुपर्छ । यसो गरेमात्रै गुणस्तरीय काम हुन्छ,’’ उहाँले भन्नुभयो ।
सांसद दाहालले प्रत्येक विकास निर्माणको काममा जनतालाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको । जनसमर्थनविना विकासको यात्रा पूरा गर्न नसकिने उहाँको भनाइ छ । उहाँले विकास निर्माणमा भइरहेकोको ढिलासुस्ती र अनियमितताविरुद्ध निरन्तर खबरदारी गर्नुपर्नेमासमेत जोड दिनुभयो ।
हरिहरपुरगढी गाउँपालिकाको हाकपारामा निर्माणाधीन पक्की पुल समयसीमा नाघिसक्न लाग्दा पनि काम नभएको भन्दै ठेक्का सम्झौता तोड्ने बेला भएको उहाँले जानकारी दिनुभयो । “निर्माण कम्पनी हाल बागमती प्रदेशका मुख्यमन्त्रीको ठेक्का हो । जेभीमा सिन्धुलीकै प्रदेश मान्य पनि हुनुहुन्छ । मैले उहाँलाई समयसीमा नाघ्न लागेको भन्दै पटक-पटक ठेक्का तोड्ने बेला भयो भनिराखेको छु,” सांसद दाहालले भन्नुभयो, “धेरैपटक समय थपिसक्यौं, अब सकिन्न थप्न । कि तपाईंहरुले काम तीव्रतामा लैजानूस् नभए ठेक्का रद्द गर्नूस् भनेको छु ।”
उहाँले राजनीतिक रुपले विभेद गरेर कांग्रेस-एमालेका नेताले ल्याएको बहुवर्षीय योजना स्वीकृत हुने तर माओवादीका नेताले ल्याएको योजना नहुने हो भने यस्ता कार्यालय नै चल्न नदिने चेतावनीसमेत दिनुभयो । ‘‘देशभर कसैको स्वीकृत भएन भने फरक पर्दैन, हाम्रो मात्रै अस्वीकृत हुन्छ भने सह्य हुँदैन,’’ उहाँले भन्नुभयो ।
बागमती प्रदेश सदस्य शुष्पा भुजेल (आस्था) ले हरिहरपुरगढी गाउँपालिकामा बागमती प्रदेशभित्रका मन्त्रालयको आफ्नो आर्थिक क्षमताको आधारमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतमा बजेट विनियोजन भएको बताउनुभयो । उहाँले आफ्नै सांसद कोषबाट पालिकाभरिका सहिदको संग्रहालय स्थापनाका लागि १० लाख रुपैयाँ बजेट विनियोजना गरिदिने प्रतिबद्धता जनाउनुभएको छ । सांसद भुजेलले हरिहरपुरगढीमा योजनामा रहेको “डम्फु पार्क” निर्माणका लागि पनि आवश्यक बजेट व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गाउँपालिकाको प्रस्ताव र प्रतिनिधिसभा सदस्य दाहालको अगुवाइमा ऐतिहासिक हरिहरपुरगढी किल्लालाई चक्रपथबाट जोड्ने योजनाअनुरुप हरिहरपुरगढी-जितपुरगढी-कामीडाँडा-चपरा सडक निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले चक्रपथ निर्माणसँगै हरिहरपुरगढी किल्लामा पर्यटन प्रवद्र्धनको काम थालनी भएको जानकारी दिनुभयो ।
गुर्जीबाट हरिहरपुरगढी किल्लाहुँदै विजय स्मारक, कर्मीडाँडा र चिसापानी, ककरेहुँदै चपरा र पुन गुर्जीमै जोडिने पक्की सडक निर्माण गर्ने भन्ने योजनाअनुसार आज मदनभण्डारी लोकमार्गहुँदै, हरिहरपुरगढी, जितपुरगढी, कामीडाँडा र चपरा जोड्ने सडकको शिलान्यास गरिएको उहाँले बताउनुभयो । अध्यक्ष वाइबाले प्रतिनिधिसभा सदस्य दाहालको इच्छाशक्तिकै कारण यो योजना पर्न सम्भव भएको भन्नुहुँदै सांसद दाहाललाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कर्मीडाँडा चिसापानीका स्थानीयको सहजताका लागि सडक स्तरोन्नति थालनी गरिनेसमेत जानकारी दिनुभयो । अध्यक्ष वाइवाले गुर्जी हरिहपुरगढी गाउँपालिकाको केन्द्रको रुपमा स्थापित हुनेसमेत विश्वास व्यक्त गर्नुभयो ।
हरिहरपुरगढी गाउँपालिका-३ का वडाध्यक्ष कुलबहादुर भोलनको अध्यक्षतामा भएको सडक शिलान्यास समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले स्वागत मन्तव्य राख्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *