माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई लाखको अवैध सामान
कात्तिक ७, सिन्धुली/बिपी राजमार्गमा खटिएको प्रहरी टोलीले २ लाख ३० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-६ माझिटार चेकपोस्टमा चेकजाँचका क्रममा मंगलबार ती सामानको बिल विजक नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
लाहानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४.ख ५८०६ नं.बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको छतमा बोरामा लुकाइछिपाइ ल्याएको बिल नभएको २ लाख ३० हजार ३५० रुपैयाँ मूल्य बराबरका सामानहरू बरामद गरी आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालय धनुषा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक कार्कीका अनुसार अफजल मिन्ट टोवाको पान मसला २४ केजी, अफजल लेमन मिन्ट टोवाको पान मसला १२.५ केजी, अफजल आहस मिन्ट पान मसला १२.५ केजी, अफजल डबल एप्पल टोवाको पान मसला २४ केजी, अफजल मिन्ट टोवाको पान मसला ५० केजी र अफजल ब्लुबेरी मिन्ट पान मसला १२.५ केजी बरामद गरिएको छ ।