• कात्तिक ५, सिन्धुली/ प्रतिनिधिसभा सदस्य लेखनाथ (राजन) दाहालले सहकारीमा जम्मा भएको पुँजी अपचलनमा मुख्य भूमिका सत्ताको तेतृत्व दल नेकपा एमालेको भएको दाबी गर्नुभएको छ । सहकारी अभियानको नेतृत्व नै एमाले नेता केशव बडालबाट सुरु भएकोले पुँजी अपचलनमा सबैभन्दा बढी जिम्मेवार एमाले रहेको उहाँको दाबी छ ।

    उहाँले यसमा नेपाली कांग्रेस सहायक भूमिकामा रहेको बताउनुभयो । ‘लामो समयदेखि मुलुकको राजकीय सत्ता र सामाजिक सत्तामा वर्चश्व कायम गर्दै आएको कारणले पनि कांग्रेस र एमालेका नेतृत्व पंक्ति र तलसम्म नै भ्रष्टाचार, अराजकता र अपारदर्शितामा उहाँहरुको मुख्य भूमिका रहेको देखिन्छ । त्यसैले समग्र भ्रष्टाचार, अराजकता र बेथितिको केन्द्र नै कांग्रेस र एमाले हुन् भन्दा फरक पर्दैन,’ सांसद दाहालले भन्नुभयो ।

    सहकारी ठगीसबन्धमा गठित संसदीय छानबिन विशेष समितिको सदस्यसमेत रहनुभएका उहाँले सहकारी ठगी प्रकरणमा संलग्नमध्ये ७० प्रतिशत एमाले र ३० प्रतिशत नेपाली कांग्रेसका नेता कार्यकर्ता संलग्न रहेको पाइएको बताउनुभयो । ‘केन्द्रीय नेता तथा सांसदहरुकै संलग्नतामा अर्बौं ठगी भएको देखिन्छ । सयवटा सहकारीमध्ये ७० वटामा एमाले र ३० वटा कांग्रेस रहेको छ,’ एक टेलिभिजन अन्तर्वार्तामा उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मात्रै २६ अर्ब रुपैयाँ ठगीमा संलग्न देखियो ।’ सांसद दाहालले कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालामाथिसमेत अनुसन्धान अगाडि बढाउन समितिको प्रतिवेदनमा प्रस्ट उल्लेख गरिए पनि सत्ताको आडमा उन्मुक्ति दिने काम भएको आरोप लगाउनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउँदा धनराज र अञ्जलालाई अनुसन्धान प्रक्रियामा नल्याउनु आपत्तिजनक भएको उहाँले बताउनुभयो । धनराजलगायतलाई जोगाउन गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएकोसमेत उहाँले खुलासा गर्नुभयो । ‘रवि लामिछाने मात्रै होइन, माननीय धनराज गुरुङसहित सहकारी ठगीमा संलग्नहरुको नाम किटान गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छौं,’ सांसद दाहालले भन्नुभयो, ‘उल्टै गृहमन्त्रीज्यूले धनराजको नाम हटाएर उजुरी दर्ता गर्न बागमती प्रदेश प्रहरीलाई निर्देशन दिनुभएको छ ।’ समितिले प्रमाणसहित प्रतिवेदन दिएकोले तत्काल कारबाही अगाडि बढाउनुको विकल्प नभएको उहाँको भनाइ छ ।

    ‘अर्बौंका भ्रष्टाचार मुद्दामा संलग्न भएका, सहकारी ठगी प्रकरणमा जोडिएका पात्रहरुलाई उन्मुक्ति दिने र सहकारी ठगी गरेर लगेका सम्पत्ति अपचलनमा जोडिएका रवि लामिछानेलाई मात्र केन्द्रित गर्ने विषय आफैंमा उपयुक्त होइन,’ सांसद दाहालले भन्नुभयो, ‘रविलाई कारबाही गर्नु ठीक छ, तर उनीसँगै ठगी प्रकरणमा जोडिएका एमाले–कांग्रेसका नेता कार्यकर्तालाई पनि हत्कडी लगाउने तागत यो सरकारले राख्नुपर्छ । यद्यपि, त्यो सम्भावना म देख्दिनँ ।’