• असोज २०,सिन्धुली/जिल्लाका विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा छोटो यात्रामा हिँडेका यात्रुको सुरक्षित यात्राको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सदरमुकाम स्थित बसपार्क लगायतका ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।

    चाडबाडको समयमा मौका छोपी अपराधिक मनोवृत्ति भएका व्यक्तिहरुले विभिन्न अपराधिक गतिबिधी गर्न सक्ने भएकोले त्यस्ता घटना हुन नदिई शान्ति सुरक्षा र अमरचयन कायम गर्नको लागि ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको प्रहरी प्रमुख गोबिन्दराज काफ्लले जानकारी दनुभयो ।

    जिल्लाको मुख्य,मुख्य सहरमा सहायता कक्ष स्थापना गरिएको छ । सदरमुकाम स्थित बसपार्क,खुर्कोट बजार, कपिलाकोटको छाप, भिमान र दुधौलीको डकाहामा सहायता कक्ष स्थापना गरिएको छ भने ५ सय ५५ जना प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय वा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर वा ड्युटीमा रहेका प्रहरीलाई भेटेर यात्राको बारेमा गुनासो गरेका सबैको समस्या कक्षबाटै समाधान गरिने बताइएको छ । आज एक आौपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले ‘यात्रु सहायता कक्ष’ को उद्घाटन गर्नुभएको थियो ।

    चाडपर्वको समयमा जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरीले गरेको काम सराहनिय रहेको उहाँले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले सहायता कक्ष यातायात व्यवसायी र यात्रु सबैको समस्या समाधानका लागि अतिआवश्यक रहेको बताउनुभयो । उहाँले चाडबाडका बेलामा समस्या आउन सक्ने भएकाले जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’ छठ पर्वसम्मनै सञ्चालनमा रहने उहाँले भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले चाडपर्बको समयमा कार्यालय सुरक्षार्थ, कमाण्ड पोष्ट,सप्राईज चेकिङ,बसपार्क तथा टिकट काउण्टरको चेकजाँच, दैनिक मादक पदार्थ तथा लागु पदार्थ सेवनको चेकिङ,मोवाइल गस्ती , राजमार्गमा गस्ती लगायतका विभिन्न प्रकृतिद्धारा सुरक्षा अपनाइने बताइएको छ ।