स्वास्थ्य बिमाको रकम नपाउँदा समस्यामा सिन्धुली अस्पताल
भदौ १०,सिन्धुली/स्वास्थ्य बिमाबापतको रकम भुक्तानी नपाउँदा सिन्धुली अस्पताल समस्यामा परेको छ । सरकारको योजनाअनुसार नागरिकलाई स्वास्थ्य बिमाअन्तर्गतको सेवा प्रदान गर्दै आएको भए पनि स्वास्थ्य बिमा बोर्डबाट रकम निकासा नगरिँदा समस्यामा परेको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी राजकुमार गोलेका अनुसार गत पुस महिनादेखिको भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । स्वास्थ्य बिमा सेवाबापत अस्पतालले पाउनुपर्ने रकम करिब साढे ३ करोड पुगेको उहाँले बताउनुभयो ।
‘बिमा कार्ड बोकेर आउने नागरिकलाई सेवा दिँदै आएका छौं । तर, गत वर्षको पुसदेखि सरकारबाट भुक्तानी नपाउँदा अस्पतालले उल्टै ऋणको भार बोक्नुपरेको छ,’ उहाँले भन्नुभयो ।
तत्काल भुक्तानी नपाए अस्पतालमा कार्यरत कर्मचारीको तलब भुक्तानी नै गर्न नसकिने अवस्थामा पुगेको उहाँको भनाइ छ । ‘यो १० महिनासम्म जसोतसो सेवा प्रदान गरियो, अब पनि बजेट विनियोजन भएन भने सेवा निरन्तरता दिन नसक्ने अवस्थामा पुगिसक्यौं,’ सूचना अधिकारी गोलेले बताउनुभयो ।
अस्पतालले आफ्नै बजेटबाट बिमाको सेवा दिइरहेकोमा बजेट अभावले यो महिनादेखि सेवालाई निरन्तरता दिन नसकिने अवस्था सिर्जना उहाँको भनाइ छ । स्वास्थ्य बिमा बोर्डमा पटक–पटक ताकेता गर्दा पनि रकम विनियोजन नगरेको उहाँले गुनासो गर्नुभयो । ‘सकेसम्म नागरिकलाई सेवाबाट वञ्चित हुन नदिने प्रयास गर्दै आएको हो । बजेट नआएपछि अब सेवा बन्द गर्नैपर्ने बाध्यता भएको छ, यसमा हामी दुःखी छौं,’ गोलेले भन्नुभयो ।
यता स्वास्थ्य बिमा कार्यक्रम सिन्धुलीका संयोजक रमेशकुमार घिमिरेले रकम भुक्तानीका लागि केन्द्रमा पहल भइरहेको बताउनुभयो । उहाँले बजेट विनियोजन नहुँदा अस्पताललाई रकम भुक्तानी गर्न नसकिएको स्वीकार गर्नुभयो ।
‘स्वास्थ्य बिमा बोर्डबाट दसैंअघि बजेट पठाउने भनेको छ, बजेट आउनसाथ अस्पतालले भुक्तानी पाउँछ,’ उहाँले भन्नुभयो ।
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत लागू गरेको स्वास्थ्य बिमा कार्यक्रममा आवश्यक बजेट विनियोजना नगरेर सरकारले लापारवाही गरेको सरोकारवालाहरुले गुनासो गर्नुभएको छ । यसले कार्यक्रमको प्रभावकारितामाथि नै प्रश्न उठ्ने उहाँहरुको भनाइ छ ।