• भदौ १९, सिन्धुली/हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा सिन्धुलीका सर्वदलिय सर्वपक्षिय महिलाहरुले पाँच सवालमा छलफल गरेका छन् ।

    मंगलबार नेपाल महिला संघ सिन्धुलीका सभापति गंगा दाहालको अध्यक्षता तथा जिल्ला समन्वय समितीका उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा तीन ठूला राजनीतिक दल सम्वद्ध महिला संगठनहरु अनेमसंघ, नेपाल महिला संघ र अनेमसंघ क्रान्तिकारीले संयुक्त कार्यक्रमको आयोजना गरि पाँच सवालमा छलफल गरेका हुन् ।

    जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले जिल्लालाई महिलामय बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ । जिल्लाका महिलाको समस्या समाधानको लागि सवैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले महिलाको समस्याको चाङ बोकेर तिजमा गाउने र रमाउनुको कुनै अर्थ नभएको बताउनुभएको छ । सिन्धुली जिल्लालाई लैंगिक हिंसा मुक्त बनाउन सबैले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने अध्यक्ष बोहोराले बताउनुभयो । बालबालिकाको अधिकार र महिलाको अधिकार सुनिश्चित हुन आवश्यक रहेको बताउँदै सबै राजनीतिक दलहरु लैंगिक समानताका पक्षमा उभिन समेत सुझाव दिनुुभएको छ ।

    अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविता कोईरालाले महिलाका अधिकार स्थापित गर्न अग्रणी भूमिकामा रहेका महिलाहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनु भएको थियो ।

    कार्यक्रममा लैंगिक हिंसा, त्यसको असर र न्युनिकरण, तिज पर्वको महत्व र त्यसले समाजमा पारेको प्रभाव, राजनीतिमा महिला सहभागिता अवसर र चुनौती, उद्यमी महिलाहरुका अवसर र चुनौती, जलवायु परिवर्तनले महिलामा पारेको प्रभावका बारेमा छलफल गरिएको थियो । अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती भट्टराई सो बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै पत्रकार विमला पाण्डेले पत्रकारले समाचार लेख्दा आइपर्ने समस्याको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    नेपाल महिला संघका सभापति गंगा दाहालले महिला नेतृत्व स्थापित हुन र नेतृत्व विकास गर्नका लागि बहस गर्न र धैर्यता कायम गर्न महिला नेताहरुलाई आग्रह गर्नुभएको थियो ।