सुनकोशी दुर्घटना अपडेट : २४ घण्टा बित्दा पनि भेटिएन बेपत्ता यात्रु
भदौ ९ , सिन्धुली/शनिबार साँझ सुनकोशी नदीमा खसेर बेपत्ता भएको गाडी भेटिए पनि चालकसहित गाडीमा सवार तीन जना फेला परेका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुडुलेमा खोटाङको हलेसीबाट भक्तपुर जाँदै गरेको हाइलक्स शनिबार साँझ अनियन्त्रित भएर सुनकोशोमा खसेको थियो ।
दुर्घटना भएको २४ घण्टा बितिसक्दा पनि तीन जना फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । “गोताखोरको टोलीले राति २ बजे नै गाडी निकाल्यो । तर तीन जना अझै बेपत्ता छन् । गाडी खसेको भन्दा केही तल ठूलो घुमाउने भंगालो भएकोले खोज्न समस्या भइरहेको छ,” उहाँले भन्नुभयो ।
बेपत्ताको खोजीकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक अनिलकुमार खड्काको कमान्डमा ५ जनाको टोली, खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा ७ जनाको टोली, प्रहरी चौकी ग्वालटारबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जनाको टोली र सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहितको टोली खटिएका छन् ।
हलेसी मन्दिर दर्शन गरेर फर्किंदा गाडी सुनकोशीमा खसेको थियो । गाडीमा चारजना सवार थिए, जसमध्ये एक जनाले हाम फालेर ज्यान जोगाएका थिए । अन्य तीनजना भने अझै बेपत्ता छन्। बेपत्ता हुनेमा गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अविन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन्।
हाम फालेर ज्यान जोगाएका भक्तपुरका २७ वर्षीय सुशान्त कक्षपतिलाई खुर्कोट अस्पतालले डिस्चार्ज गरिसकेको जनाइएको छ । उनको कुइनो, पाता र टाउकोमा चोट लागेको थियो ।