घ्याङलेखमा नवनिर्मित नेत्रकाली स्वास्थ्य चौकी भवनको उद्घाटन
साउन ३०,सिन्धुली/घ्याङलेख गाउँपालिका–४ मा नवनिर्मित नेत्रकाली स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । बुधबार एक समारोहबीच प्रतिनिधिसभा सदस्य लेखनाथ (राजन) दाहालले नवनिर्मित भवन उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोह घ्याङलेख वडा नं. ४ का अध्यक्ष अमृत वाइबाको अध्यक्षतामा सम्पन्न भएको हो ।
समारोहलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य दाहालले नवनिर्मित भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने अपेक्षा व्यक्त गर्नुभयो । यद्यपि, भवन परम्परागत शैलीकै बनेकोमा भने उहाँले गुनासो गर्नुभयो । वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने खालको आधुनिक भवन बन्नुपर्नेमा त्यसमा कमजोरी देखिएको उहाँले औंल्याउनुभयो ।
सांसद दाहालले स्वास्थ्य चौकीका कर्मचारीहरुले यहाँ आउने बिरामीहरुको उपचारसँगै गाउँगाउँ तथा टोलटोलसम्म पुगेर स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उपचारमा आएकालाई उपचार गर्ने र समय मिल्नेबित्तिकै गाउँमा गएर सचेतना जगाउनुपर्ने उहाँको सुझाव छ ।
‘स्वस्थ रहन श्रम गर्नुपर्छ । तर, सधैं श्रममात्र गर्ने खानपान, पोषणमा ध्यान नदिनेको स्वास्थ्यमा विभिन्न समस्या आउने गर्छ । रक्सी बढी सेवन ग¥यो भने कलेजो जान्छ । त्यसैले खानपान र व्यायामसम्बन्धी यस्ता सचेतना जगाउनुपर्छ,’ उहाँले भन्नुभयो ।
स्वास्थ चौकीका लागि आवश्यक सामग्रीहरु संघीय सरकारमार्फत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । स्वास्थ्य चौकीमा आवश्यक दरबन्दी व्यवस्थापनमा पनि उहाँले चासो व्यक्त गर्नुभएको थियो ।
‘शिक्षा, स्वास्थ्य र रोजगार संविधानमै मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यसैले आवश्यक दरबन्दी र सामग्रीका लागि बजेट व्यवस्थापन गर्नु सरकारको दायित्व हो । संघीय सरकारमा यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु,’ सांसद दाहालले भन्नुभयो ।
उहाँले संविधानमा मौलिक हक सुनिश्चित गरिए पनि ऐन, कानुन र नियमावलीहरु नबन्दा कार्यान्वयनमा समस्या भइरहेको बताउनुभयो । यही कारण जनताले पाउनुपर्ने सेवाहरु पाउन नसकेको उहाँको भनाइ छ । उहाँले मुलुकले हाल भोगिरहेको समस्या व्यवस्थाको कारणले नभई व्यवस्थापनमा भएको कमजोरीले भएको बताउनुभयो ।
कार्यक्रममा घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले विकास निर्माणमा जनप्रतिनिधिहरु एक ढिक्का भएर अगाडी बढे मात्रै सम्भव हुने वताउनुभयो । “कोहि उत्तर फर्किने कोहि दक्षिण फर्किने भयो भने विकास हुन सक्दैन, त्यस कारण दक्षिण फर्कदा पनि एकैचोटि फर्किनु पर्छ । उत्तर फर्कदा पनि एकैचोटि फर्किनु पर्छ अनि मात्र विकास सम्भव छ” अध्यक्ष भोलनले भन्नुयभो ।
घ्याङलेख गाउँपालिका सिन्धुली जिल्लाको विकट गाउँपालिका भएको सबै तहका सरकारले विकास निर्माणको लागि प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । उहाँले समान विकासको लागि विकट क्षेत्रलाई बढि प्राथमिकतामा राख्न संघीय प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) लाई आग्रह समेत गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले विकास भन्न सजिलो तर गर्न निकै कठिन हुने अनुभव व्यक्त गर्नुभयो । घ्याङलेख गाउँपालिकाको ५ वटा वडाको स्वास्थ्य चौकीमध्ये सबैभन्दा पहिलो पटक ४ नम्बर वडालाई बजेट परेपनि जमिनको अभावको कारण अन्य वडामा भवन बनिसक्दा पनि भवन निर्माणमा समस्या भएको र जसोतसो गरेर भवन निर्माण गरिएको उहाँले सुनाउनुभयो ।
धेरै प्रयत्न गरेर वडावासीलाई वडाबाटै सेवा सन्चालन गर्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । स्वास्थ्य जनताको अतिआवश्यक क्षेत्र भएकोले गाउँपालिकाले एक वडामा दुई स्थानबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो । “पहिला टाढावाढाले बेसी क्षेत्रमा मात्र स्वास्थ्य केन्द्रहरु स्थापना गरेको थियो अहिले गाउँपालिकाले हरेक वडाको दुई स्थानबाट जनतालाई स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौं” उहाँले भन्नुभयो ।
भवन निर्माणमा आफैले लगातार अनुगमन गरेपनि निर्माण व्यवसायीले लापारर्बाहि गरेको उपाध्यक्ष घलानको भनाई । भवन निर्माणमा गुणस्तरीय सामानको प्रयोग नभएको उहाँले बताउनुभयो ।
नवनिर्मित स्वास्थ्य चौकी भवनबाट गणस्तरीय स्वास्थ्य सेवा दिन गाउँपालिकाले अधिकतम पहल गर्ने प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले वताउनुभयो । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार गाउँपालिका स्तरीय एमविविएस डाक्टर नियुक्ति गरेर सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले वताउनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजनाबाट विनियोजित बजेटबाट यस स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । कूल १ करोड २० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवन डेढ तलाको रहेको छ ।