‘तीज क्वीन–२०८१’ मा सहभागिताका लागि आह्वान

साउन १४, सिन्धुली/सिन्धुलीको वारियर डान्स सेन्टरले विवाहित महिलाहरुका लागि नृत्य प्रतियोगिता ‘तीज क्वीन–२०८१’ आयोजना गर्ने घोषणा गरेको छ । सेन्टरले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा सहभागिताका लागि यही साउन १७ गतेसम्म नाम दर्ता गरिने वारियर डान्स सेन्टर सिन्धुलीका सन्चालक सन्तोष नेपालीले जानकारी दिनुभयो ।
विवाहित महिलाहरुले विभिन्न कारणले गर्दा आफुमा भएको प्रतिभा लुकाएर बसिरहेको अवस्थामा उनीहरुको प्रतिभालाई बाहिर ल्याउने उदेश्यले सो ‘तीज क्वीन–२०८१’ को आयोजना गरिएको सन्चालक नेपालीले बताउनुभयो । उहाँका अनुसार यही साउन १९ गते अडिसनमार्फत अन्तिम प्रतियोगीहरु छनोट गरिने छ ।
ग्राण्ड फिनाले आगामी भदौ १५ गते आयोजना गरिने सेन्टरले जनाएको छ । प्रतियोगिताका विजेतालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै फस्र्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः १० हजार र ५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।
प्रतियोगितामा सहभागिताका लागि एकलतर्फ ५०० रुपैयाँ, डोएटतर्फ १ हजार र समूहतर्फ १ हजार ५०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रतियोगितामा जमुना राना मगर, विक्रम गेलाल र अनु बलम्पकी निर्णायकको भूमिकामा रहने छन् ।