• असार २५,सिन्धुली/सिन्धुलीका विपद्पीडित कृषकले राहत पाएका छन् । मंगलबार एक कार्यक्रमबीच कृषि विकास कार्यालय सिन्धुलीले विपद्पीडित कृषकलाई २ लाख रुपैयाँ राहत वितरण गरेको हो ।

    बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट भित्री मधेश बहुउदेश्यीय कृषि फार्मका कृषकका लागि आएको राहत रकम पीडित कृषकलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख अरुण खनालले जानकारी दिनुभयो । उहाँका अनुसार दुधौली नगरपालिका–१ स्थित ५ हेक्टर जमिनमा सामूहिक केराखेती गरेका तीन जना कृषकलाई २ लाख राहत उपलब्ध गराइएको हो ।

    गत चैत २ र १७ गतेको हावाहुरीले उक्त कृषि फार्मको २ हेक्टर जमिनमा लगाइएको केराखेतीमा पूर्णरुप क्षति पुगेको भन्दै कृषकले कृषि विकास कार्यालयमा क्षतिपूर्तिका लागि दाबी गरेका थिए । सोही अनुसार कृषकलाई प्रोत्साहनका लागि राहत उपलब्ध गराइएको प्रमुख खनालले बताउनुभयो ।

    सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले कृषकहरुले बाली बिमाका लागि ध्यान दिन जरुरी रहेको बताउनुभयो । विपद्ले बालीमा जुनसुकै समयमा पनि क्षति पु¥याउन सक्ने भएकोले कृषकले अनिवार्यरुपमा बाली बिमा गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

    जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले प्राकृतिक र गैरप्राकृतिक विपद्बाट कृषक प्रभावित भएरै कृषि क्षेत्रबाट युवाहरु हट्दै जाने गरेको बताउनुभयो ।

    अहिले पछिल्लो समय स्थानीय सरकार कृषक समक्ष पुग्न थालेको उहाँले बताउनुभयो । कृषकलाई प्रोत्साहनका लागि संघ, प्रदेश सरकार र स्थानीय तहले कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।