आमा तिमी कहिल्यै नरिसाउनु

केही खाएको विष लाग्यो होला
कयौं नखाएका विष पनि लाग्यो होला
हुन त आमा, महादेवले पनि त अमृत सेवन गरेका हैनन्
अहिले महादेव आँखा सामु छैनन्
तर उनैलाई पुज्छन्
तर तिमी त छौ हामीसंग
तिमी भएकै बेला पुज्न हाम्रो अहंकारले दिँदैन
सन्तानका सवै अहंकार र स्वार्थलाई मातृस्नेहले जित्नु
तर आमा, तिमी कहिल्यै नरिसाउनु ।

भनिन्छ बुढेसकालमा मानिस बच्चा झैँ हुन्छन् रे
म बच्चा हुँदा त तिमी थियौ
त्यो तातेताते अनि कोखाइ–कोखाईमा पनि तिमी थियौ
तर आज तिमी बच्चा हुँदा
म आफ्नै स्वार्थी दुनियाँमा बाँधिएको बहाना गर्दैछु
यो बहाना कतिन्जेल चल्छ थाहा छैन
आफ्नै रगतको वचनबाणले मुटु छियाछिया भएकोबेला
तिनलाई जन्माउँदाको सुत्केरी रगत सम्झेर माफी दिनु
तर आमा, तिमी कहिल्यै नरिसाउनु ।

आमा त सहनशीलताकी देवी हुन रे
त्यसैले होला आँसुमा नुहाएका ती आँखा
पीडामा पिल्सिएका मन
अनि स्वार्थी ती तिखा बाँणले घोचिएका हृदय
सबै सहन सिप्पालु तिमी ।

ती दिन त छोडौँ
आजको राम्रो कर्मको पनि हेक्का नराख्ने तिमी
उ जमानाको पित्को झै राम्रो कर्मको आडमा
आज पनि झ्याली पिट्दैछौं हामी
एक एक बुँदा टिपी अहिले पनि फल माग्दैछौं हामी ।

तिम्रो मुखको गाँस पनि मैले खाएँ होला
तिम्रो हिँस्साको खुसी पनि मैले जिएँ होला
तिम्रो हाँसो मैले हाँस्दा मेरो आँसु तिमीले सजिलै पिएकीछ्यौ
तिम्रो बुढ्यौली छाती
आफ्नाहरुको कुण्ठा पोख्ने मैदान भएकाबेला
तिमी ममता र मुस्कानले जित्नु
तर आमा, तिमी कहिल्यै नरिसाउनु ।

– किरण खड्का, सिन्धुली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *