फिक्कलमा नि:शुल्क पशुपंक्षी स्वास्थ्य शिविर
माघ ८, सिन्धुली/फिक्कल गाउँपालिकाको वडा नम्बर ३ मा दुई दिने नि:शुल्क पशुपंक्षी स्वास्थ्य शिविर सन्चालन गरिएको छ । ३ नम्बर वडाको चनौटे र मनापु भन्ज्याङमा सन्चालन गरिएको शिविरबाट १ सय ५५ जना कृषकले लाभ लिएका छन् ।
फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुहिक सरोकार समाज सिन्धुली नेपालको सहजिकरणमा संचालित कृषि तथा पशुपालन उद्यमशिलता विकास कार्यक्रम अन्र्तगत पशुपन्छी पालक कृषकहरुलाई लाभ हुने उदेश्यले निशुल्क पशुपन्छी स्वास्थ्य शिविर सन्चालन गरिएको सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडिले जानकारी दिनुभयो ।
सो शिविरमा कृषकलाई परजीवी विरुद्ध औषधि वितरण गरिएको छ । १ हजार ६ सय ९८ वटा बाख्रा, गाई,गोरु ४ सय १९ वटा,भैंसी १ सय २७ वटा,बंगुर १ सय २० र पंन्छी २ हजार ३ सय २५ वटा लाई आवश्यकता बमोजिम औषधी वितरण गरिएको अध्यक्ष पहाडिले बताउनु भयो ।
त्यस्तै ११ वटा बन्ध्याकरण गरिएको जनाइएको छ । यसअघि फिक्कल गाउँपालिकाको वडा नम्बर १ माघ ५ र ६ गते सन्चालन भएको सो शिविरबाट १ सय ६४ जना कृषकले लाभ लिएका थिए । पशुपालक कृषकको संख्या बढाउने गाउँपालिकाको उदेश्य अनुरुप कृषकलाई प्रोत्साहनको निम्ती गाउँपालिकाको ६ वटै वडामा निशुल्क शिविर सन्चालन गरिने अध्यक्ष पहाडिको भनाई छ ।
कृषकलाई लाभ मिल्ने गरि प्रत्येक वडामा २ दिन फरक फरक स्थानमा निशुल्क शिविर सन्चालन हुने भएकाले गाउँपालिकाले कृषकलाई पायक पर्ने स्थानमा गएर सेवा लिन आह्वान समेत गरेको छ । शिविरमा साढे,बोका,थुमाको बन्ध्याकरण,परजीवी विरुद्धको औषधि वितरण,गोबर परिक्षण,रेबिज खोप तथा परामर्श तथा अन्य सेवाहरु प्रदान गरिएको छ ।