तिमी याद बनेर आइरहनु-बा

मलाई तिम्रा तस्वीरहरु झुन्ड्याउन
कुनै रंगिन भित्ताहरु खोज्नु पर्दैन
थरीथरीका फ्रेम छान्नु पर्दैन
कसैले खोस्न नसक्नेगरी
कसैलाई भागबण्डा गर्नु नपर्नेगरी
तिम्रो माया र विश्वासको तस्वीर
कहिल्यै नचर्किने
कहिल्यै फेर्न नपर्ने
मेरो मुटुको भित्तामा मुस्कुराइरहेको छ–बा ।

सेता बगरमा फुलेका सेताम्य काँस
हावाको बेगमा जसरी लपेटिन्छ
त्यसरी नै तिम्रा फुलेका केशमा
मेरा औँलाहरु ‘बा’ भन्दै लपेटिन्थे
बच्चा सम्झेर साँझमा माउ गुँड फर्कँदा
जसरी बचेराहरु खुसी हुन्छन्
त्यसरी नै खुसी हुने दिन सम्झेर
म तिमीलाई पर्खिरहेछु– बा,
तिमी अर्काे जुनी खोज्न गएका हौ
यदि हुँदोरहेछभने अर्काे जुनी,
तिमी लिएर आउनु
र त्यहि जुनी संगै बाँचम्ला ।

मलाई यो रंगिन दुनियाँ
सँधै फिका लाग्नुको एउटै कारण छ
धर्ती चम्काउने जुनको उज्यालो
मलाई औँसी समान हुनुको उहि कारण छ
किनकी, मेरो एकमात्र सप्तरंगी इन्द्रेणी तिमी थियौ
मेरो सिंगो चोलाको उज्यालो तिमी थियौ
जव मेरो इन्द्रेणी मसंग छैन भने
जावो यो दुनियाँलाई म रंगिन कसरी देखुँ ?
जव मेरो उज्यालो मसंग छैन भने
जावो यो धर्तीलाई म चम्किलो कसरी देखुँ ?

जसरी यो चोलामा
मृत्युको विकल्प मृत्यु नै हुन्छ
त्यसरी नै यादको विकल्प याद मात्रै हुन्छ
मैले फेर्ने स्वास दोहोरिउन्जेल
मेरो प्राणको अन्तिम धड्कन चलुन्जेल
निर्विकल्प तिमी याद बनेर आइरहनु– बा ।
ध्रुवचन्द्र खड्का
सिन्धुली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *