सिन्धुलीमा बढ्यो कृषि राहत पाउनेको संख्या
सिन्धुुली/विपद्का कारण कृषि क्षेत्रमा क्षति बेहोरेका सिन्धुलीका १ सय २१ जना किसानले आर्थिक वर्ष २०८२/८३ मा २२ लाख ३३ हजार ६ सय ६९ रुपैयाँ राहत पाएका छन् ।
गत आर्थिक वर्षमा १४ जना किसानले ४ लाख ६३ हजार ६ सय रुपैयाँ राहत पाएका थिए ।यस वर्ष राहत पाउने किसानको संख्या र वितरण भएको रकम दुवै बढेको कृषि विकास कार्यालय सिन्धुलीले जनाकारी दिएको छ ।
विपद्का कारण कृषि उत्पादनमा क्षति पुगेका किसानलाई पुन खेतीमा फर्किन सहज होस् र आगामी उत्पादनका लागि आवश्यक बीउ तथा अन्य सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारको सहयोगमा कृषि विकास कार्यालय सिन्धुलीले क्षतिको मूल्यांकन गरी प्रभावित किसानलाई राहत रकम वितरण गरेको हो । कार्यालयको अनुसार फागुनमा आएको हावाहुरी, असोजमा आएको बाढीपहिरो र चैतमा परेको असिनापानीको कारण जिल्लाका ९ वटै स्थानीय तहका कृषि बाली तथा कृषि व्यवसायमा ठूलो क्षति पुगेको थियो ।
कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठका अनुसार विपद्का कारण धान, तरकारी, फलफूल, च्याउ, किवी, खरबुजा, केरा लगायतका बाली तथा कृषि व्यवसायमा क्षति पुगेको थियो । यस वर्ष सबैभन्दा बढी क्षति केरा खेतीमा भएको उहाँले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार यस वर्ष ७८ जना किसानले धानखेतीतर्फ, २२ वटा कृषि फर्मले तरकारी तथा फलफूलतर्फ र सुनकोशी गाउँपालिका–स्थित लेकबेँसी कृषक समूहका २० जना किसानले राहत पाएका छन् ।
कार्यालयको अनुसार सबैभन्दा धेरै राहत घ्याङ्लेख गाउँपालिकाका किसानले पाएका छन् । त्यहाँ धानखेतीमा मात्रै यस वर्ष ६ लाख ४० हजार ५ सय ५० रुपैयाँ बराबरको क्षति भएको थियो ।
त्यस्तै यस वर्ष धानबाहेक जिल्लाका विभिन्न स्थानीय तहमा तरकारी, फलफूल, च्याउ, किवी, खरबुजा लगायतका खेती तथा कृषि व्यवसायमा १५ लाख ९३ हजार १ सय १९ रुपैयाँ बराबरको क्षति भएको कार्यालयले जनकारी दिएको छ ।
कृषि विकास कार्यालयले प्रत्येक वर्ष वैशाखदेखि चैतसम्म विपद्का कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी राहत वितरण गर्दै आएको छ । राहत प्राप्त गर्न किसानले विपद्बाट भएको क्षतिको मुचुल्का तयार गरी कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । त्यसपछि कार्यालयले क्षतिको मूल्यांकन गरी राहत रकम उपलब्ध गराउने गरेको कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठले सिन्धुली खवरलाई जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा जिल्लाका १४ जना किसानलाई ४ लाख ६३ हजार ६ सय रुपैयाँ राहत वितरण गरिएको थियो भने यस वर्ष १ सय २१ जना किसानलाई २२ लाख ३३ हजार ६ सय ६९ रुपैयाँ राहत वितरण गरीएको छ ।


