कमलामाईमा अब जलनको उपचार आर्थिक अभावले नरोकिने

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै जलन भएका नगरभित्रका सम्पूर्ण नागरिकका लागि निःशुल्क उपचार सेवा सुरु गरेको छ ।

सिन्धुली जिल्लामै पहिलो पटक कमलामाई नगरपालिकाले कीर्तिपुर अस्पतालसँग सहकार्य गरी यस्तो सेवा लागू गरेको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो ।

नगर प्रमुख पोखरेलको नेतृत्वमा सुरु गरिएको यस सेवाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य लिएको छ । यसअन्तर्गत अब कमलामाई नगरपालिका भित्रका जलन भएबका बिरामीले कीर्तिपुर अस्पतालमा आवश्यक उपचार निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

नगर प्रमुख पोखरेलले नागरिकको जीवनभन्दा ठूलो कुनै प्राथमिकता हुन नसक्ने उल्लेख गर्दै स्थानीय सरकारले जनताको स्वास्थ्य सुरक्षाका लागि दीर्घकालीन तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँको अनुसार जलन जस्तो जटिल अवस्थामा उपचार खर्चका कारण कसैले पनि थप पीडा भोग्न नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो । उहाँले भन्नुभयो, “जलनको पीडा आफैंमा असह्य हुन्छ । त्यसमा पनि आर्थिक अभावका कारण उपचार नपाउनु झन् दुःखदको विषय हो । अब कमलामाई नगरपालिकाका कुनै पनि नागरिकले उपचार खर्चकै कारण जीवन जोखिममा पार्नुपर्ने अवस्था रहने छैन ।“

नगर प्रमुख पोखरेलले यो निर्णय केवल एउटा स्वास्थ्य कार्यक्रम मात्र नभई नागरिकको जीवनप्रतिको सम्मान, संवेदना र जिम्मेवार स्थानीय सरकारको प्रतिबद्धताको प्रतीक भएको पनि बताउनुभयो ।

नगरपालिकाले कुनै पनि जलनको घटना भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराई उपचार प्रक्रियामा सहभागी हुन आग्रह समेत गरेको छ । साथै आगामी दिनमा पनि नागरिकको स्वास्थ्य र सुरक्षालाई केन्द्रमा राखेर यस्ता जनहितमुखी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *