मरिणमा क्रेन दुर्घटना हुँदा एक चिनियाँ नागरिक गम्भीर घाइते, चालक फरार
सिन्धुली/जिल्लाको मरिण गाउँपालिका–४ स्थित सहन क्षेत्रमा रहेको हिमालयन फुड चाइनिज कम्पनी परिसरमा क्रेन दुर्घटनामा एक जना चिनियाँ नागरिक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार गम्भीर घाइते हुनेमा चिनियाँ नागरिक ३९ वर्षीय मजदुर वाङसिन रहेका छन् ।उहाँको अनुसार दुर्घटना आज आइतवार साँझ करिब ६ः३० बजेतिर भएको हो भने रड उचाल्ने क्रममा डोरी चुडिँदा क्रेनबाट खसेको सामग्रीले लागेर वाङसिन घाइते भएका हुन् ।
घाइते वाङसिनको टाउको, दाहिने कानको छेउ तथा हातमा गम्भीर चोट लागेको छ भने उनको अवस्था गम्भिर रहेको र बोल्न नसक्ने अवस्थामा भएको प्रहरीले जनकारी दिएको छ ।
घटनापछि तत्कालै उपचारको लागि घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएकोे थियो ।
अस्पतालमा प्रारम्भिक उपचार गरे पछि उनको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि करिब ८ः०० बजेको समयमा एम्बुलेन्स मार्फत जनकपुरतर्फ पठाइएकोे छ ।
हाल घाइतेलाई जनकपुरबाट यरबस मार्फत काठमाण्डौ पठाउनको लागी पहल भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीकले जानकारी दिनुभयो ।
बा ३ क ३६८९ नम्बरको क्रेन पर्सा जिल्ला, वीरगञ्ज निवासी करिब ५३ वर्षीय चालक सकिल मोहम्मद अन्सारीले चलाएका थिए ।घटनापछि क्रेन चालक अन्सारी फरार रहेका छन् । उनको खोजतलास भईरहेको सुवेदीकले जानकारी दिनुभयो ।

