अपाङ्गता भएका व्यक्तिहरूलाई ब्ल्याङ्केट वितरण
सिन्धुली/सिन्धुलीमाढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई ब्ल्याङ्केट वितरण गरिएको छ ।आज शनिबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाका २५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।
महिला अपाङ्ग संघ र नेपाल रेडक्रस सोसाइटी बीच एक अन्तरक्रियामा भएको सम्झौता अनुसार आर्थिक अवस्था न्युन भएका २५ जना अपाङ्गता व्यक्तिहरूलाई ब्ल्याङ्केट वितरण गरिएको महिला अपाङ्ग संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा)ले जानकारी दिनुभयो ।ब्ल्याङ्केट पाए पश्चात अपाङ्गता भएका व्यक्तिहरू र अभिभावकहरु निकै हर्षित भएका छन् ।
देवकोटाकोले ब्ल्याङ्केट वितरणको अवसरमा बोल्नुहुँदै महिला अपाङ्ग संघको प्रस्तावलाई स्वीकार गरेकोमा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई धन्यवाद व्यक्त गर्दे अपाङ्गता भएका व्यक्तिहरूलाई बुझेको र सहयोग गरेकोमा खुशी लागेको बताउनुहुँदै बिस्तारै बिस्तारै अपाङ्गता भएका व्यक्तिहरुलाई बुझेको र समेटिएकोमा सहयोगी सँस्थाहरु प्रति पनि धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापती समेत रहनुभएका अशोक श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका र अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो सँस्थाले सानो सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताउनुहुँदै आगामी दिनहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरु र सँस्थाहरुलाई सकेको सहयोग र समन्वय गर्ने बताउनुभयो ।
महिला अपाङ्ग संघ सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको सहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका शाखा प्रमुख पवन पाख्रिन, अपाङ्ग संघ सिन्धुलीका अध्यक्ष बिमला थापा,अपाङ्गता भएका व्यक्तिहरु र अभिभावक लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

