मरिण गाउँपालिकाद्धारा दुई साहित्यकार सम्मानित
सिन्धुली /स्थानीय सरकारले अन्य क्षेत्रलाई जस्तो साहित्य क्षेत्रलाई प्राथमिकतामा राख्दैन भन्ने आरोप निरन्तर रुपमा लाग्दैआएको छ ।
निरन्तर रुपमा लाग्दै आएको यहि आरोपलाई चिर्दै सिन्धुलीको मरिण गाउँपालिकाले पहिलो पटक साहित्यकारहरुलाई सम्मान गरेको छ । पालिकाले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर साहित्यकारहरु बाबुराम श्रेष्ठ ‘निरुपम’ र रुपक जमरालाई सम्मान गरेको हो ।
मरिण गाउँपालिमा बसोबास गरी साहित्य क्षेत्रमा लगातार कलम चलाएर साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप दुई श्रष्टाहरुलाई गाउँपालिकाले सम्मान गरेको पालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो । नेपाली साहित्य र वाङ्मयको श्रीवृद्धि र उन्नयनमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको उल्लेख गरिएको छ ।
दुई श्रष्टालाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ “यहाँका कृतिहरुले समाजको जिवन्त चित्रण गर्नुका साथै पाठकको मनमस्तिष्कमा नवीन चेतनाको सञ्चार गराएका छन् । यहाँको अटूट साधना, बौद्धिक व्यक्तित्व र साहित्यप्रतिको समर्पण आगामी पुस्ताका लागि सधैँ प्रेरणाको श्रोत बनिरहनेछ ।”
निरुपम श्रेष्ठका दुई कवितासङ्ग्रह यस अघि नै बाबुराम श्रेष्ठका नाममा सार्वजनिक छन् भने २०८२ मा तेस्रो कृतिका रूपमा गीतसङ्ग्रह ‘कुमारी माया’ सार्वजनिक भएको छ । त्यस्तै जल्दा बल्दा युवा साहित्यकार जमराले फुटकर रूपमा कविता लेख्दै आउनुभएको छ । विभिन्न प्रतियोगिताहरुमा सहभागि भएर जमराले निकै पुरस्कारहरु प्राप्त गर्नुभएको छ ।
साहित्यको माध्यमबाट स्थानीय समाजलाई चेतनाको उज्यालो छर्न सम्भव छ । यो तथ्यपरक पनि छ । तर साहित्यलाई स्थानीय सरकारले हेर्ने दृष्टिकोण कहिल्यै पनि सकारात्मक भएन । मरिण गाउँपालिकाले गरेको साहित्य र साहित्यकारप्रतिको यो सम्मानले कलमप्रेमीहरुलाई लेखनमा थप प्रोत्साहित गरेको छ ।

