प्रणय दिवको अवसरमा सिन्धुली महिला अपाङ्ग संघका अध्यक्ष देवकोटाद्धारा बैशाखी वितरण
सिन्धुली/प्रणय दिवको अवसरमा सिन्धुली महिला अपाङ्ग संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा)ले अपाङ्गता भएका व्यक्तिलाई बैशाखी हस्तान्तरण गर्नु भएको छ।
आफूले गरेको सानो सहयोगले अपाङ्गता भएका व्यक्तिहरूलाई केही राहत महसुस होस् भन्ने लागेर सकेको सहयोग गरेको देबकोटाले बताउनुभयो। यसले आफूलाई निकै आनन्द महसुस भएको वहाँको भनाई छ ।
उहाँले कमलामाई नगरपालिका वडा नम्बर १२ बस्ने १४ वर्षका नारायण आले मगरलाई बैशाखी उपलब्ध गराउनुभएको हो। मगर अहिले श्री सरस्वती आधारभुत विद्यालय रिठापोटेको कक्षा ८ मा अध्यनरत हुनुहुन्छ। वडासङ्ग पटक पटक बैसाखी दिन आग्रह गर्दा पनि वडाबाट केहि प्रतिक्रिया नआए पश्चात उनी निराश भएका थिए। तर प्रणय दिवसको अवसर पारेर महिला अपाङ्ग संघका अध्यक्ष देवकोटाले उनलाई बैसाखी उपलब्ध गराएपछी आले निकै हर्षित छन् ।
“मेरो पहिलो प्रेम कर्म हो। जहाँ खुसी मिल्छ त्यहीँ मेरो प्रेम हुन्छ। जहाँ अपाङ्गता भएका व्यक्तिहरूले न्याय पाउँछन्, त्यहीँ मेरो प्रेम हुन्छ। जहाँ अपाङ्गता अधिकार सुनिश्चित हुन्छ, त्यहीँ मेरो प्रेम जोडिएको हुन्छ। जहाँ तपाईंहरूको आवश्यकता पूरा हुन्छ, त्यहीँ मेरो प्रेम हुन्छ“ देवकोटाले भन्नुभयो।
बैशाखी पाए पश्चात आले र आलेका परिवारले खुसी व्यक्त गर्दै देवकोटालाई धन्यवाद दिएका छन् । आगामी दिनमा पनि अपाङ्गता भएका ब्यक्तिहरुको सेवामा निरन्तर लागिरहने देवकोटाले बताउनुभयो।

