जिल्लाको गोलन्जोर गाउँपालिकामा तीन दिने जुनार प्रवद्र्धन मेला हुने
सिन्धुली/राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जुनार प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाको गोलन्जोर गाउँपालिकामा जुनार प्रवद्र्धन मेला हुने भएको छ ।
मेला मंसिर २३, २४ र २५ गते सम्म तीन दिन गाउँपालिकाको वडा नं. ४ तीनकन्याको माझकुभिण्डेमा संचालन हुने भएको हो ।
कृषि विकास कार्यालय सिन्धुलीमा गत विहिबार भएको सरोकारवालाहरुको बैठकले ३ दिन सम्म जुनार प्रवद्र्धन मेला गर्ने निर्णय गरीएको गाउँपालिका अध्यक्ष शंकरराज बरालले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।
मेलामा जुनारको व्यवसायीकरण, जुनारमा देखा परेका रोग तथा किराको नियन्त्रण लगायतका कुरामा समेत सहयोग पुग्ने र पर्यटन प्रवद्र्धनमा अझ धेरै लाभ हुने अपेक्षा गरिएको अध्यक्ष बरालले बताउनुभयो ।
त्यस्तै मेलाले जुनारको उत्पादन मूल्य, बजार पहुँच र अनुकूल नीतिका लागि किसान, स्थानीय तह र नीजि क्षेत्रबीचमा समेत अझै धेरै समन्वय बढाउने अपेक्षा गरीएको छ । उसो त अहिले किसानलाई जुनार टिप्न भ्याईनभ्याइ भईरहेको छ । सिन्धुलीको पहिचान जुनारलाई गुणस्तरीय र व्यवसायिक रुपमा उत्पादनतर्फ उन्मुख बनाउन तिन दिने मेलाले अझ धेरै महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष बरालको बिश्वास व्यक्त गर्नुभयो ।


