यस वर्ष सिन्धुलीमा ९९.१९ प्रतिशत धान रोपाइँ

सिन्धुली/सिन्धुलीमा ९९.१९ प्रतिशत धान रोपाइँ सकिएको छ । भदौ पहिलो सातासम्म ९९.१९ प्रतिशत धान रोपाइँ सकिएको कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले दिनुभएको जानकारी अनुसार जिल्लामा यस वर्ष कमलामाई नगरपालिकामा ९८ प्रतिशत र दुधौली नगरपालिकामा १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै सुनकोशी गाउँपालिकामा ९८ प्रतिशत, घ्याङ्लेख गाउँपालिकामा १०० प्रतिशत, फिक्कलमा ९९ प्रतिशत, तीनपाटनमा १०० प्रतिशत, मरिणमा १०० प्रतिशत , हरिहरपुरगढीमा ९९ प्रतिशत र गोलन्जोर गाउँपालिकामा १०० प्रतिशत धान रोपाइँ सकिएको श्रेष्ठले सिन्धुली खबरलाई बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष कमलामाई र सुनकोशीमा ९८ प्रतिशत मात्र रोपाइँ सकिएको छ । बिबिध कारणले गर्दा यी दुई पालिकामा अपेक्षा अनुसार रोपाइँ हुनसकेन । त्यसो त सिन्धुलीका ९ स्थानीय तहमध्य सबै भन्दा धेरै धान उत्पादन दुधौली नगरपालिकामा हुनेगर्दछ । यस पलिकामा यस वर्ष १०० प्रतिशत रोपाइँ भएको छ । त्यस्तै उत्पादनका हिसावले गोलन्जोर गाउँपालिकामा सबैभन्दा कम धान उत्पादन हुनेगर्छ ।
कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा ११ हजार १८८ हेक्टर जमिन वर्षे धानका लागि खेतीयोग्य छ । जस अन्तरर्गत जिल्लामा जेठ महिनाको तेस्रो हप्ताबाट भदौको पहिलो हप्ता सम्म धान रोपिन्छ । जिल्लामा कुल खेती योग्य जमिन ६९ हजार २५३ हेक्टर रहेको छ । धान उत्पादनका हिसावले सिन्धुलीको दुधौली, तीनपाटन र मरिण क्षेत्रलाई उर्वर क्षेत्र मानिन्छ । सिँचाइ सुविधा भएका स्थानहरुमा धान रोपाइँ चाँडै सकिन्छ भने आकासे पानीको भरपर्नुपर्ने स्थानमा रोपाइँ सक्न भदौ महिना नै पर्खिनुपर्छ ।
मकवानपुर–१, रामधान, सावित्री, कतर्नी, हाइब्रिड जात अन्तर्गतका अन्य जातहरु यहाँ खेती हुने धानका प्रमुख जातहरुमा पर्ने कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । गत वर्ष जिल्लामा ९९.९ रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष केहिमात्रामा धेरै धान रोपाइँ भएको छ ।