स्वाबलम्वन समूहका सदस्यहरुका लागि ३ दिने वकालत तालिम सुरु

सिन्धुली/अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्वन समूहका सदस्यहरुका लागि ३ दिने वकालत तालिम आजबाट सिन्धुलीमाडीमा सुरु भएको छ ।
सशक्त महिला अभियान समावेशी न्यायका लागि अग्रसरता परीयोजना अन्तर्गत तालिम सन्चालन गरिएको हो । सिन्धुली अपाङ्ग महिला संघको आयोजना तथा एविलिस फाउण्डेसनको सहयोगमा तालिमको आयोजना गरीएको बताइएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर र सक्षम बनाउने उद्देंश्यले वकालत सम्वन्धि तालिमको आयोजना गरीएको सिन्धुली अपाङ्ग महिला संघकी अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) जानकारी दिनुभयो ।
समुदाय र सामाजिक गतिविधिमा अर्थपूर्ण सहभागिताको लागि नेतृत्व विकासलाई प्रोत्साहन गर्ने, आयआर्जनमूलक तालिम मार्फत आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार समबन्धि चेतना जगाउँने र सेवामा पहुँच सुधार गर्ने लक्ष्यका साथ तालिमको परिकल्पना गरिएको अध्यक्ष देवकोटाको भनाई छ ।
सिन्धुली अपाङ्ग महिला संघकी अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) को अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले यस्ता तालिमहरु जिल्लाका ९ ओटै स्थानीय तहहरुमा गर्न आग्रह गर्नुभएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव, राष्ट्रिय अपाङ्ग महासंघ वागमती प्रदेशका उपाध्यक्ष, कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटा, कमलामाई नगरपालिका अन्तर्गत १४ वटै वडाका वडाअध्यक्षहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । तीन दिनसम्म संचालन हुने तालिममा १० प्रकारका बहिरा, शारिरीक रुपमा अपाङ्ग भएका व्यक्ति, दृष्टिविहिन भएका व्यक्ति र उनिहरुका अभिभावकहरुको सहभागिता रहने छ ।