सिन्धुलीमा ७७ प्रतिशत धान रोपाइँ सकियो

सिन्धुली/सिन्धुलीमा ७७ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विकास कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार साउन महिनाको पहिलो हप्ता सम्म ७७ प्रतिशत धान रोपाइँ सकिएको हो ।

भौगोलिक अवस्था र पानीको सुविधा अनुसार भदौ महिनाको पहिलो हप्तासम्म रोपाइँ गरिने भएकाले बाँकी २३ प्रतिशत रोपाइँ यहि अवधिमा सकिने कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले जानकारी दिनुभयो । यो वर्ष १०० प्रतिशत रोपाइँ हुने अपेक्षा गरिएको श्रेष्ठको भनाई छ । जिल्लामा गत वर्ष ९७ प्रतिशत रोपाइँ भएको थियो । समयमा पानी नपर्दा सबै पालिकामा अपेक्षा अनुसार रोपाइँ हुनसकेको छैन।

यस वर्ष साउनको पहिलो हप्तासम्म कमलामाई नगरपालिकामा ८५ प्रतिशत र दुधौली नगरपालिकामा ६२ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै सुनकोशी गाउँपालिकामा ८७ प्रतिशत, घ्याङ्लेख गाउँपालिकामा ८५ प्रतिशत, फिक्कलमा ७० प्रतिशत, तीनपाटनमा ८२ प्रतिशत, मरिणमा ७९ प्रतिशत , हरिहरपुरगढीमा ७७ प्रतिशत र गोलन्जोर गाउँपालिकामा ८० प्रतिशत धान रोपाइँ सकिएको कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले सिन्धुली खबरलाई बताउनुभयो । उहाँका अनुसार साउन महिनाको पहिलो हप्ता सम्म सबै भन्दा धेरै सुनकोशी गाउँपालिकामा ८७ प्रतिशत धान रोपाइँ सकिएको छ भने सबै भन्दा कम दुधौली नगरपालिकामा ६२ प्रतिशत रोपाइँ सकिएको छ।

त्यसो त सिन्धुलीका नौ स्थानीय तहमध्य सबै भन्दा धेरै धान उत्पादन दुधौली नगरपालिकामा हुन्छ । तर यस वर्ष पानी अभावका कारण यहाँ ६२ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । उत्पादनका हिसावले गोलन्जोर गाउँपालिकामा सबैभन्दा कम धान उत्पादन हुनेगर्छ । जिल्लामा कुल खेती योग्य जमिन ६९ हजार २५३ हेक्टर रहेको छ । यसमध्य ११ हजार १८८ हेक्टर जमिन वर्षे धानका लागि खेतीयोग्य छ।

धान उत्पादनका हिसावले सिन्धुलीको दुधौली, तीनपाटन र मरिण क्षेत्रलाई उर्वर क्षेत्र मानिन्छ । सिँचाइ सुविधा भएका स्थानहरुमा धान रोपाइँ चाँडै सकिन्छ भने आकासे पानीको भरपर्नुपर्ने स्थानमा रोपाइँ सक्न भदौ महिना नै पर्खिनुपर्छ । मकवानपुर–१, रामधान, सावित्री, कतर्नी, हाइब्रिड जात अन्तर्गतका अन्य जातहरु यहाँ खेती हुने धानका प्रमुख जातहरुमा पर्ने कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *