सिन्धुली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सिन्धुली/सिन्धुलीलाई आज एक कार्यक्रमकाबीच पूूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

जिल्ला खोप समन्वय समिति सिन्धुलीको आयोजनामा औपचारिक कार्यक्रम गरि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । नौ वटै स्थानीय तहलाई पूर्ण खोप घोषणा गरिसके पश्चात जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलको प्रस्ताव, निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको समर्थन तथा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको रोहवरमा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा लगाएतले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । घोषणा कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धतामा हस्ताक्षर गरेका छन्।

घोषणा कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका पत्रकारहरुका लागि स्वास्थ्य विमामा प्रिमियम सेवा दिने, प्रदेश अस्पतालमा आँखाको विशेषज्ञ सेवाको व्यवस्था गर्ने र बागमती प्रदेशका १३ वटा जिल्लाका १३ वटा प्रादेशिक अस्पताल मध्य २ वटा प्रादेशिक अस्पतालमा “टेलि मेडिसिन हब” बनाउने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा वहाँले बागमती प्रदेश सरकारले महिलाहरुको पाठेघरको मुखको क्यान्सर भएका महिलाहरुलाई ५० हजार थप गरेर १ लाख रुपैयाँ उपचार खर्च प्रदान गर्ने निर्णय गरेको जानकारी समेत दिनुभयो । एक पालिका एक नमूना स्वास्थ्य चौकी निर्माण गर्ने देखि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दिगो स्वास्थ्य नीति ल्याइएको मन्त्री थापाको भनाई छ।

सिन्धुलीको फिक्कल गाउँपालिकालाई बैशाख २६ गते पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । जिल्लाका १४ हजार १ सय ६८ जना बालबालिकाहरुलाई पूर्ण खोप लगाइएको कार्यक्रममा जानकारी गराइएको छ । साथै १५८ जना बालबालिकालाई सर्वेक्षणमा भेटेर खोप लगाइसकेपश्चात सिंगो जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। जिल्ला समन्वय सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षता तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम गरिएका हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *