प्रहरीको तथ्यांक भन्छ : ११ महिनामा हराएका बालबालिकामध्य ८३ प्रतिशत बालिका

सिन्धुली/सिन्धुलीबाट बालक भन्दा बालिका धेरै हराउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ मा हराएका बालबालिका मध्य ८३ प्रतिशत बालिका रहेका छन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकलाई हेर्दा ५३ जना बालबालिका हराएका मध्य ४४ जना बालिका रहेका छन् भने ९ जना बालक रहेका छन् । गत आर्थिक बर्षमा पनि हराएका मध्य ८१.६३ प्रतिशत बालिका रहेका थिए । प्रायः १५ वर्ष देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरु हराउने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीका अनुसार ११ महिनाको अवधिमा ५३ जना हराएका बालबालिकाहरु सबैलाई सकुशल फेला पारेको र परिवारलाई जिम्मा लगाईएको छ ।

घर परिवारमा बालमैत्री वातावरण नहुनु, वैदेशिक रोजगारका कारण एकल अभिभावकले हुर्काउनु, धेरै सामाजिक संजालको प्रयोग गर्नु, सानै उमेरमा एकअर्का प्रति आकर्षण बढ्नु, साथी भाइको संगत लगाएतका कारणले बालिकाहरु धेरै हराउने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदीले सिन्धुली खबरलाई जानकारी दिनुभयो । बालबालिकाहरु हराउने क्रम बढेसंगै अभिभावक तथा सम्वन्धित बालबालिकाहरुलाई सम्झाइ बुझाई परिवारको जिम्मा लगाइएको र यस्ता कारणहरुबाट टाढै रहन सुझाव दिइएको सुवेदीको भनाई छ ।

कार्यालयको तथ्यांक अनुसार श्रावण महिनामा बालिका ३, भाद्रमा २ बालक, ३ बालिका, कार्तिक २ बालक ३ बालिका, मंसिरमा ३ बालिका, पुषमा ३ बालिका, माघमा १ बालक ८ बालिका, फागुनमा १ बालक ३ बालिका, चैत्रमा २ बालक ६ बालिका, बैशाखमा ७ बालिका, जेठमा ९ बालिकाहरु हराएका छन् । उक्त तथ्याङ्क हेर्दा सबै भन्दा धेरै जेठ महिनामा ९ बालिकाहरु हराएका छन् भने असोज महिनामा कुनै पनि बालबालीकाहरु हराएका छैनन्।

तथ्याङ्क अनुसार कमलामाई नगरपालिकामा चालु आवमा ३१ जना, दुधौली नगरपालिकामा १४ जना, सुनकोशी गाउँपालिकामा ४ जना, हरिहरपुरगढी गाउँपालिकामा ३ जना र गोलन्जोर गाउँपालिकामा १ जना बालबालिकाहरु हराएका छन् । बालबालिकाहरु हराउनेको संख्या सबै भन्दा धेरै कमलामाई नगरपालिकामा ३१ जना रहेको छन् । यस आवमा मरिण, घ्याङ्लेख र फिक्कल गाउँपालिकामा कुनै पनि बालबालिकाहरु हराएका छैनन् ।

गत आर्थिक वर्षमा ४९ जना बालबालिकाहरु हराएका थिए । जस्मा ९ जना बालकहरु थिए भने ४९ जना बालिकाहरु हराएका थिए । गत वर्षको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै जेठ महिनामा ८ जना बालबालिकाहरु हराएको तथ्यांक छ । बालबालिकाहरु हराउने क्रम बढिरहेको कुरालाई प्राथमिकतामा राख्दै यसप्रति प्रहरी गम्भिर भएर लागिपरेको प्रहरी उपरिक्षक लालध्वज सुवेदीले बताउनुभयो । यसलाई कम गर्न प्रहरीले अभिभाबकहरुलाई सचेतना कार्यक्रमहरु सन्चालन गरिरहेको वहाँको भनाई छ । साथै वहाँले आफ्ना बालबालिकाहरु कुन अवस्थामा, केकस्तो समयमा कहाँ जान्छन्, संगत कस्तो छ र दैनिकी कसरी बिताइरहेका छन् भन्ने कुरामा अभिभावकहरुले सकेसम्म चनाखो भएर निगरानी गनुपर्ने सुझाव दिनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *