• भदौ २८, सिन्धुली/गोलञ्जोर गाउँपालिकामा शुक्रबारदेखि दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको निजामती कर्मचारी अस्पताल र गोलञ्जोर गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

    पहिलो दिन शुक्रबार शिविरमा ७३० जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका गाउँपालिकाले जानकारी दिएको छ । जसमा ४३२ जना महिला र २९८ जना पुरुष रहेका छन् ।

    शिविरमा स्वास्थ्य जाँच गराउनेहरुलाई एक्सरे परीक्षण, ल्याब, इसिजी, युएसजीलगायत परीक्षण, सर्जरी ओपिडी, माइनर ओटी, गाइनो ओपिडी, डेण्टल ओपिडी, अर्थो ओपिडी, आँखा, मेडिसिनलगायत विभिन्न परीक्षण सेवा प्रदान गरिएको जनाइएको छ । विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले सहभागीहरुको स्वास्थ्य जाँचका साथै आवश्यक परामर्श प्रदान गरिएको गाउँपालिकाले जनाको छ ।

    गोलञ्जोर–३ ग्वाल्टारस्थित कोशिका माविमा सञ्चालित स्वास्थ्य शिविर भोलि शनिबारसम्म चल्ने छ । शिविर बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने गाउँपालिकाले जानकारी दिएको छ ।

    निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराई लाभ लिन गाउँपालिकाले आह्वान गरेको छ । शिविरमा गोलञ्जोर गाउँपालिकावासीले मात्रै नभई वरपरका अन्य पालिकाका बासिन्दाले पनि सेवा लिनसक्ने जानकारी दिइएको छ ।