• भदौ २५,सिन्धुली/सिन्धुली प्रहरीले अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो करिब पौने २ बजे दुधौली नगरपालिका–२ कमलापुलस्थित मदन भण्डारी राजमार्गबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

    कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार भोर्लेनी जंगलबाट काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा ना. ६. त ६९९२ नम्बरको ट्याक्टरलाई प्रहरी चौकी हत्पतेबाट खटिएको प्रहरी गस्ती टोलीले रोकी चेकजाँच गर्ने क्रममा ट्याक्टरमा कागजपत्र नभएको ७५ क्युफिट सालको चिरान काठ भेटिएपछि ट्याक्टर, काठ र चालकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

    पक्राउ पर्नेमा ट्याक्टर चालक दुधौली नगरपालिका–२ बस्ने जनकबहादुर श्रेष्ठ, सोही ठेगाना भएका गणेश श्रेष्ठ, लोकबहादुर मिजार, खड्कबहादुर मिजार र सागर मिजार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिलकुमार खडकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    उनीहरुलाई इलाका प्रहरी कार्यालय डकाहामा ल्याई सवडिभिजन वन कार्यालय हर्षाही सिन्धुलीलाई बुझाइएको कार्यालयले जनाएको छ ।