महिलाहरुलाई स्थानीयस्तरमै उत्पादित सामग्रीको प्रयोग गर्न मन्त्री तामाङको आग्रह

भदौ १६, सिन्धुली/बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले महिलाहरुलाई स्थानीयस्तरमै उत्पादित सामग्रीको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

शनिबार कमलामाई नगरपालिकाका पुर्व प्रमुख खड्ग बहादुर खत्रीले आयोजना गरेको ‘तिज विशेष’ कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला सिन्धुली आइपुग्नु भएकी मन्त्री तामाङले यस्तो बताउनु भएको हो । जिल्लाका सरकारी कार्यालयहरुले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नको लागि स्थानीय स्तरमै उत्पादन गरेका सामग्री प्रयोगमा ल्याउनुपर्ने कुरामा मन्त्री तामाङले जोड दिनुभएको छ ।

“महिलाहरुले मेहनत गरेर यद्योग चलाइरहेका छन् । त्यसको बजारीकरणको जिम्मेवारीमा स्थानीय सरकार र सरकारी कार्यालय जुट्न जरुरी छ । महिलाहरुले पनि आफ्नो भान्सा र अन्य ठाउँमा आवश्यक सामग्री आफ्नै ठाउँको प्रयोग गर्नुपर्छ” मन्त्री तामाङले भन्नुभयो ।

महिलाको नाममा उद्योग दर्ता गर्दा ५० प्रतिशत छुट भए सँगै पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता बढ्दै गएको उहाँले सुनाउनुभयो । अव जिल्लाकामा ‘एक पालिका एक प्रमुख उद्योग’ स्थापनाको लागि पहल गरिने समेत मन्त्री तामाङले बताउनुभयो ।

नेपाली महिलाहरुको माहान पर्व हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै मन्त्री तामाङले सामाजिक विकृति फैलाउने खालका क्रियाकलाप नगरी चाडपर्व मनाउन समेत आग्रह गर्नुभएको थियो । कमलामाई नगरपालिकाका पुर्व प्रमुख खड्ग बहादुर खत्रीले तीन बर्ष देखि ग्रामिण भेगका महिलाहरुलाई लक्षित गरेर तिजको अवसरमा दर खुवाउने कार्यक्रम राख्दै आउनु भएको छ ।

सहर केन्द्रित भन्दा पनि ग्रामिण भेगमा बस्दै आउनु भएका आमा तथा दिदिबहिनी सँग चाडपर्वको अवसर पारेर सामाजिक सद्भाव बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पुर्व प्रमुख खत्रीले बताउनुभयो । “ केहि दिन सम्मको लागि घाँसको भारी पु¥याएर,घरको काम सकेर बिदा मागेर माइत जाने महिलाहरु पनि छन् । एकदिन भने पनि खुसी साट्नुहुन्छ । ” उहाँले भन्नुभयो । कार्यक्रममा महिलाहरु रातो,हरियो,पहेँलो ,फुलबुट्टे साडिमा सजिएर आउनु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *