• असार २१,सिन्धुली/प्रतिनिधिसभा सदस्य राजन दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाएकै कारण सरकार ढल्ने अवस्था आएको बताउनुभएको छ । उहाँले भ्रष्टाचारमा संलग्न नेपाली कांग्रेस र नेकपा एमालेका मुख्य व्यक्तिहरु पक्राउ पर्ने भएपछि ती दल सरकार ढाल्न लागिपरेको दाबी गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रिय सदस्य समेत रहनुभएका दाहालले कांग्रेस सभापति शेरबहादुर देउवापत्नी एवं प्रतिनिधिसभा सदस्य आरजु राणा र एमाले अध्यक्ष केपी शर्मा ओलीका साला राजेश शाक्यलाई जोगाउन कांग्रेस–एमालेको सहकार्य भएको बताउनुभयो ।

    ‘अचानक ७२ घण्टाको बीचमा सरकार ढल्ने अवस्था आयो । मुख्य त नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचैन झा र रामबहादुर थापाका छोरा प्रतीक थापा गिरफ्तार परिसकेपछि नयाँ तरंग पैदा भयो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएबापत अर्बौंको भ्रष्टाचार भएको थियो । मुख्य पोल खोल्ने व्यक्तिहरु पक्राउ गरिसकेपछि मुख्य–मुख्य व्यक्तिहरु अनुसन्धानमा आउने भए । एमाले र कांग्रेस दुवैतिरका,’ हरिहरपुरगढी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सांसद दाहालले भन्नुभयो, ‘माननीय शेरबहादुर देउवाको श्रीमती र माननीय केपी ओलीका साला राजेश, जो सिआइबीमा बयान दिइराखेको थियो । उहाँहरु कि त जेल जानुप¥यो कि त सरकार ढाल्नुप¥यो ।’

    सांसद दाहालले असल नियतले नभई बद्नियतपूर्ण ढंगले सरकार ढाल्ने काम भएको बताउनुभयो । ‘भ्रष्टाचारविरुद्धको अभियानमा सरकारले जुन गति लिएको थियो, एउटै काण्ड सुन तस्करी प्रकरणमा आठ खर्बको मुद्दा भर्खरै दर्ता भएको छ । यस्ता खर्बौंको भ्रष्टाचार र राजस्व दुरुपयोग भएका छन् । अख्तियारले पनि अहिले पाँच अर्बभन्दा मुनिको भ्रष्टाचार हेर्न नभ्याउने भनिरहेको छ,’ उहाँले भन्नुभयो ।

    भ्रष्टाचारीहरुकै कारण मुलुक गरिब भएको उहाँको भनाइ छ । मुलुकमा खर्बौंको भ्रष्टाचार हुँदा रहेछ भन्ने कुरा पहिलोपटक प्रधानमन्त्री प्रचण्डले उजागर गरिदिएको उहाँले दाबी गर्नुभयो । ‘नेता, मन्त्रीदेखि कर्मचारीसम्म भ्रष्टाचारमा संलग्न रहेको तथ्य कमरेड प्रचण्डले डेढ वर्षमा बाहिर ल्याइदिनुभयो । बहालवाला मुख्यसचिव जेल गएका थिएनन् खरदार, सुब्बाहरु जेल जान्थे हजार–एक दुई लाख तिरेर निस्कन्थे तर योपटक मुख्य व्यक्तिहरु परेका छन्,’ सांसद दाहालले भन्नुभयो ।

    संसद्मा परिवर्तनका पक्षधर कमजोर रहेको फाइदा परिवर्तन विरोधी दलहरुले लिइरेको उहाँले बताउनुभयो ।