• असार ११, सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं.२, भिमस्थानलाई पूर्ण खोप वडा घोषणा गरिएको छ । तीनपाटन गाउँपालिकाको स्वास्थ्य शाखा तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भिमस्थानको संयुक्त आयोजनामा सोमबार एक औपचारिक कार्यक्रमकाबीच वडा नं.२ लाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।

    प्रमाण पत्र तथा सम्मान ग्रहण गर्दै स्वास्थ्य स्वयंसेविका

    तोकिएका सूचक तथा मापदण्डहरु पूरा भएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको छ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चतता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ तीनपाटन गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता भएको पालिका घोषणा गर्ने अभियान सफल बनाउनका लागि वडा नं.२ भिमस्थानलाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको आयोजकले जनाएको छ । वडा नं.२ का वडा अध्यक्ष मुकुन्द प्रसाद पौडेलको अध्यक्षता तथा भवानी माविका प्रधानाध्यापक पवनराज दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

    पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा एवं सम्मान कार्यक्रम पश्चातको सामूहिक तस्विर

    पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा कार्यक्रमका अवसरमा वडाका ५ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान समेत गरिएको छ । अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रकी इन्चार्ज रुबी गौतमले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि पवनराज दाहाल तथा वडा अध्यक्ष मुकुन्द्र प्रसाद पौडेलले स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सम्मानित हुने स्वास्थ्य स्वंसेविकाहरुमा शारदा कुमारी दुलाल, अप्सरा कुमारी सत्याल, कल्पना माझी, रेनुका श्रेष्ठ र बसन्ती कुमारी श्रेष्ठ रहनुभएको छ ।

    कार्यक्रममा वोल्दै प्रमुख अतिथि पवनराज दाहालले घोषणा गर्न जति गार्हो र अप्ठेरो हुन्छ त्यसलाई व्यवहारमा उतार्न र निरन्तरता दिन त्योभन्दा झनै गार्हो हुने बताउनुभयो । वडालाई पूर्ण खोप सुनिश्चित भएको वडाको रुपमा कायम राख्न सम्वन्धित सवै निकायहरुले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई साथ दिनुपर्ने धारणा राख्नुभयो । विद्यालयको तर्फबाट सहयोग तथा सहकार्यमा कुनै कन्जुस्याइँ नहुने दाहालको प्रतिवद्धता छ । त्यस्तै वडा अध्यक्ष मुकुन्द प्रसाद पौडेलले वडालाई यहाँसम्मको सफलतामा ल्याउन भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।