तीनपाटनमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
सिन्धुली/तीनपाटन गाउँपालिका-३, जोगेस्थित सिन्धुली-चकमके भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका-६ का ३० वर्षीय दिपेन्द्रप्रसाद पटेल हुनुहन्छ ।
शनिबार चकमकेबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश-२-०२-००३ प ३४८८ नम्बरको मोटरसाइकल काठमाडौंबाट चकमकेतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ४६१४ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक पटेल घाइते हुनुभएको थियो ।
घाइते पटेललाई उपचारका लागि तत्काल जिल्ला अस्पताल सिन्धुली पठाइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो ।
मोडमा एक्कासि बस देखेपछि अनियन्त्रित बनेको मोटरसाइल बसको पछाडिको टायरमाथि ठोक्किएर दुर्घटना भएको देखिएको उहाँले बताउनुभयो । प्रहरी प्रवक्ता खड्काले बस र उक्त बसका चालक रामबहादुर थापामगरलाई नियन्त्रणमा राखिएको जानकारी दिनुभयो ।