• माघ १८,सिन्धुली/सिन्धुलीका गायक सोनाम बज्यूको आफ्नै शब्द, संगीतमा तामाङ भाषाको सन्देश मूलक ‘दिङ्गिला ल्होछार’ गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘दिङ्गिला ल्होछार’ नयाँ गीत सार्वजनिक गरिएको हो ।
    तामाङ भाषाको गीत ‘दिङ्गिला ल्होछार’ सार्वजनिक गरिएको गायक बज्यूले जानकारी दिनुभयो । गीतमा शब्द सोनाम बज्यू र फूल कुमार बोम्जनको रहेको छ भने संगीत र संगीत एरेन्जर बज्यू आफैले गर्नुभएको छ । गीतमा स्वर सोनाम बज्यु, फूल कुमार बोम्जन, सोनाम लामा, सुमिना लो र रेश्मा बोम्जनले दिनुभएको छ ।
    सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ६ जगाडीमा छायांकन गरिएको गीतमा तामाङ समुदायको संस्कार, संस्कृतिको बारेमा देखाइएको छ । आफ्नो समुदायको संस्कारसंस्कृति चाडपर्व, भाषा नयाँ पुस्ताले बिस्तारै बिर्संदै गएको हुँदा जर्गेना गर्ने उद्देश्यका साथ गीत ल्याइएको गायक बज्यूले बताउँनुभयो ।
    ल्होछारको अवसर पारेर गीतको भिडियो निर्देशन सोनाम लामाले गर्नुभएको छ भने कन्सेप्ट बज्यु आफ्नै रहेको छ । भिडियोमा कलाकार मिलन थिङ्ग, कृष्मा वाइबा, सन्जु थलाङ, सोनाम लामा लगायत रहेका छन् ।
    हाल सम्म उहाँले तामाङ र नेपाली भाषामा पाँचौं सोलो एल्बम बजारमा ल्याइसक्नु भएको छ । गायक तथा संगीतकार बज्यूको पहिलो एल्बम तामाङ भाषामा ‘ताफोले म्हेन्दो’ र नेपालीमा ‘जुन’ ल्याउनु भएको थियो । बज्यूले हाल सम्म सय भन्दा धेरै गीतमा शब्द र संगीत दिनुभएको छ भने ५० वटा गीत उहाँ आफैले गाउँनु भएको छ ।
    हाल गायक बज्यू सिन्धुलीमा विद्यालय सञ्चालन गरेर बस्नु भएको छ । कुनै समय पुरा गीत सङ्गीतमा लाग्नु भएका बज्यूले अहिले गीत संगीत भन्दा पनि आफ्नो पेशामा समय दिइरहनु भएको छ । अब भने वर्षमा एउटा गीत ल्याउने योजना रहेको बताउँनुभयो ।