लक्ष्मी फार्मेसी र सिन्धुली पोलिक्लिनिकमा शिलबन्दी
बैशाख ३, सिन्धुली/सिन्धुलीमा मापदण्ड विपरित सन्चालित लक्ष्मी फार्मेसी र सिन्धुली पोलिक्लिनिक प्रालि शिलबन्दी गरिएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्लाका औषधि पसलहरुमा अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालन भएको फार्मेसि र पोलिक्लिनिकमा शिलबन्दी गरिएको हो ।
अनुगमनको समयमा लक्ष्मी फार्मेसीको इजाजत पत्र प्राप्त ब्यक्ति नभेटिएकाले नेपाल सरकारबाट इजाजतपत्र प्राप्त ब्यक्ति उपस्थित नहुन्जेलसम्मका लागि फार्मेसीमा शिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।
त्यस्तै सिन्धुली पोलिक्लिनिकको इजाजतपत्र नविकरण नभएको फेला परेकाले इजाजतपत्र नविकरण नगरेसम्म सिलबन्दी गरिने नेपालले बताउनु भयो ।
आज कमलामाई नगरपालिकाका भित्र बजार, मधुटार, ढुङ्ग्रेबास र धुराबजारमा सन्चालनमा रहेका आयुर्बेदिक ३, पोलिक्लनिक ३, एलोपेथिक १३ गरी १९ वटा पसलहरुमा अनुगमन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय, कमलामाईन नगरपालिका, सिन्धुली अस्पताल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, सिन्धुली उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म, घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन गरिएको थियो ।
अनुगनका क्रममा सरसफाईको बिशेष ध्यान दिन, डाक्टरको प्रेस्कृप्सनमा मात्र औषधि बितरण गर्न इजाजत प्रमाणपत्र सर्बसाधारणले देख्ने गरी टाँस्न, लागु तथा मनोद्धिपक औषधिको संचय गर्न, भण्डारण र बिक्रिलाई अझ ब्यबस्थित गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो ।