म प्रकृति थिएँ रे !
– इश्वर केसी
एकादेसको कुरा हो
म प्रकृति थिएँ रे
मभित्र पनि यौवन थियो रे
मभित्र पनि जीवन थियो रे ।
म एक थिएँ
रुप मेरा अनेक थिए
झर्झर गर्दै
झरना बनेर
पहरा–पहराबाट खस्थेँ
हरिया पातहरुसङ्ग जिस्किँदै
सुरिलो हावा भएर
सफा निलो आकासमा
निर्धक्क बहन्थेँ
हरिया फाँटहरु उर्वर गराउँदै
कन्चन पानी भएर
मुल–मुलबाट बग्थेँ
अनगिन्ती डाँडाहरु ढाक्ने
चारकोसे झाडी भएर
कतै घना जङ्ल बनेर फैलिन्थेँ
एकादेसको कुरा हो
मेरो अस्तित्व थियो रे
मेरो महत्व बुझ्थे रे ।
आज भोलि पनि मलाई
प्रकृति भन्दा रहेछन्
किताबमा साना नानीहरु
मलाई पढ्दा रहेछन्
पहिलेको जस्तो त्यो योवन छैन
म भित्र त्यो जीवन छैन
म लुटिएको छु
म नाङ्गिएको छु
कतै मुढो बनेर ढलेको छु
कतै कालो धुँवा बनेर रोएको छु
कतै खहरे बनेर सुकेको छु
मेरो रुपमा पहिलेको त्यो रङ्ग छैन
फन्केर हिँडेको मेरो श्रीमान् ‘वसन्त’
घर फर्किन मान्दैन
कान्छी छोरी कोइली
कुहुकुहु गाउँन मान्दिन
कहिले कृष्णभिरको पहिरो
मलाई भेट्न आउँछ
कहिले कोसिको बाढी
नाता जोड्न आउँछ
एकादेसको कुरा होइन यो
हाम्रै देसको कुरा हो
कोखैभित्र सुके झरनाहरु
गनाउन थाले हावाहरु
खैरा भए हरिया डाँडाहरु
मुलभित्रै सुके मुलहरु
‘घर’ भए फराकिला फाँटहरु
नाली बने खोलाहरु
खोइ त मेरो पहिलेको अस्तित्व ?
कसले बुझ्यो र मेरो महत्व ?
सानो चोटमा भक्कानिएर रुने
ए ! नाममात्रका मान्छेहरू
छातीभित्र ढुङ्गा च्यापेर
बाँचे जस्तो गर्ने
ए ! मरेका मान्छेहरु
आफ्नै खुट्टामा बन्चरो हान्दै रमाउँने
ए ! कलियुगका कालीदासहरु
कालीदास पनि कवि बने
तिमीहरुको घैँटोमा रबि कहिले उदाउँछ ?
बुझेर पनि किन अबुझ बन्छौ ?
ए ! आजका बुद्धिजिबिहरु
म प्यास थिएँ तिमीहरुको
म श्वास थिएँ तिमीहरुको
म भोक थिएँ तिमीहरुको
म बास थिएँ तिमीहरुको
सुते जस्तो नाटक नगर
ए ! आधुनिक कुम्भकर्णहरु
काट्दा मलाई पनि दुख्छ
आफैलाई काटेर हेर
डर मभित्र पनि छ
बाढिमा बगेर हेर
कति गाह्रो भएको छ मलाई
एकफेर प्रकृति बनेर हेर
याद गरे तिमीहरु
मेरो महत्व बुझे
तिमीहरुको अस्तित्व रहन्छ
मेरो अस्तित्व रहे
तिमीहरुको जीवन रहन्छ
सबैलाई चेतना भया ।।